सिँचाइको आशमा डुडुवाका किसान

0
79

डुडुवा(बाँके)-डुडुवा शाखा नहरमार्फत सिक्टाको पानी खेतबारीमा सिँचाई गर्ने गोमती हरिजनले आशा गर्न थालेको बर्षौसाल बितिसक्यो, तर अहिलेसम्म अधुरै छ । सिक्टा सिँचाइ आयोजनाले डुडुवा सिँचाइ प्रणालीलाई शाखा नहरमा परिणत गरेर काम थालेपछि हर्षित भएका उनी अहिले बीचमै काम अलपत्र परेपछि निराश छन् ।

स्थानीय ७० बर्षिय हरिजन डुडुवा शाखा नहर निर्धारित समयमै सम्पन्न हुने आशामा थिए । उक्त शाखा नहर निर्माणको जिम्मा पाएको ठेकेदार ‘कोस्टाल पप्पु कन्स्ट्रक्सन’ ले काम गर्न नसकेपछि उनको आशा अहिले निराशामा परिणत भएको छ । हरिजनले भने, ‘डुडुवा नहर चाडै बन्ला भनी आश गरेर बसेका थियौं, ठेकेदारले काम नगरेर बीचमै छाडिदियो, अब त सिँचाइ गर्ने आशा नै मरिसक्यो ।’ आयोजना कार्यालयका अनुसार पप्पुले उक्त शाखा नहर २०१८ अक्टोबर २० तारिख सम्म सक्नुपर्ने सम्झौता थियो । ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति नदेखिएको भन्दै पप्पुसँग सम्झौता तोडिसकेको छ ।

नहरको सक्नुपर्ने बेलामा अधुरै भएपछि किसान चिन्तित देखिन्छन् । गाउँमा डुडुवा नहर बाहेक सिँचाइको अरु कुनै विकल्प नभएको किसान बताउँछन् । यहाँका किसान आकाशे पानीको भरोसामा खेती गर्दै आएका छन् । सिँचाइ अभावका कारण कतिपय किसानले खेतबारी बाँझै छाड्नुपर्ने बाध्यता छ । ‘गाउँमा डीप बोरिङ खन्दा पनि सफल हुदैन, सिँचाइको एउटा मात्रै विकल्प भनेको नै डुडुवा शाखा नहर हो,’ हरिजनले थपे ।

पप्पुले सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले केहीदिन अघि मात्र ठेक्का तोडेको थियो । करिव २३.२ किलोमिटर लामो डुुडुवा शाखा नहर बनाउन विभागले ९८ करोड रुपैयाँमा पप्पुसँग सम्झौता गरेको थियो । तर, ठेकेदारले उक्त नहरको काम ७ प्रतिशत मात्रै गरेको आयोजना कार्यालयले जनाएको छ । डुडुवा खोलाको पानीमार्फत किसानको खेतबारीमा सिँचाइ गर्ने उद्देश्यले परम्परागत खालको डुडुवा सिँचाइ प्रणाली स्थापना गरिएको थियो । उक्त नहरको २०२० सालमा राजा महेन्द्रले उद्घाटन गरेका थिए । तत्कालिन समयमा उक्त नहरबाट ३ क्युमेक पानी सञ्चालनमा ल्याइएको थियो ।

नहर पटक–पटक विग्रिन थालेपछि सिक्टा सिँचाइ आयोजनाले डुडुवालाई आफ्नो सबैभन्दा ठुलो शाखा नहर बनाउने गरी काम अगाडी बढायो । डुडुवा शाखा नहरबाट सिक्टाको पानी साढे १८ क्युमेक छाड्ने गरी डिजाईन गरिएको छ । उक्त शाखाबाट १६ हजार हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य राखिएको छ । डुडुवा शाखा नहर निर्माणका लागि साउदी विकास कोषले नेपाल सरकारलाई दुई अर्ब ४१ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । ठेकेदारको कामप्रति सन्तुष्ट नभएपछि कोषले पटक–पटक सहयोग रोक्ने चेतावनी समेत दिदै आएको थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्