थारु आयोगमा मनोनित सदस्य चौधरीलाई बाँकेमा सम्मान

0
294

बाँके, फागुन ७ –


थारु आयोगका सदस्य सुबोध सिंह थारुले संवैधानिक अधिकार प्रयोग गरेर थारु समुदायको सवाल उठाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । थारु कल्याणकारिणी सभा बाँकेको सम्मान ग्रहण गर्दै उहाँले यसअघि पनि विभिन्न माध्यमबाट थारु समुदायको साँस्कृतिक पहिचान र समस्या उजागार गर्दै आएको र अव आयोग मार्फत सरकारलाई थारुहरुको माग र मुद्दा कार्यान्वयन गराउन तर्फ संवैधानिक अधिकार प्रयोग गरेर लागिपर्ने बताउनुभयो । थारु युवाहरु पढाई, खेलकुद लगायतका क्षेत्रमा अब्बल भएपनि विभिन्न कारणले निरन्तरता दिन नसकेको बताउनुभयो । उहाँले थारु युवाहरुकोलागि शहर बजारमा छुट्टै होस्टेलको ब्यवस्था गर्नसके पढाईलाई निरन्तरता दिनचाहने थारु युवालाई सहयोग पुग्ने महसुस गर्दै यो योजना आफ्नो पहिलो प्राथमिकतामा परेको जानकारी दिनुभयो ।


यस्तै आयोगका सदस्य चौधरीलाई बधाई तथा सम्मान गर्दै थारु कर्मचारीसँघ बाँकेका अध्यक्ष जीत बहादुर चौधरीले लोकसेवा आयोगले मधेशी, मुस्लिम र दलितलाई छुट्टै कोटा निर्धारण गरे जस्तै थारुलाई पनि छुट्टै कोटा हुनुपर्ने सवाल थारु आयोगले उठाउनुपर्ने बताउनुभयो । थारु समुदाय जनजाति भित्रको पनि सबै भन्दा पिछडिएको वर्गमा पर्ने भएकोले छुट्टै कोटा निधारण गर्न मागगर्नु भयो ।

थारु कर्मचारीसँघ बाँकेका महासचिव पूर्ण चौधरीले थारु आयोग गठन भएको तीन बर्ष बिती सक्दापनि अहिले सम्म कुनै उल्लेखनिय काम गर्न नसकेको आरोप लगाउनुभयो । थारुहरुले विगतमा आफ्नो हक अधिकारकालागि विभिन्न आन्दोलन गरेको र त्यहि आन्दोलनको फलस्वरुप थारु आयोग गठन भएपनि आयोगले सुस्त गतिमा काम गरेको बताउनुभयो । थारु आयोगको काम कर्तब्यबारे सबै थारुहरुलाई जानकारीकालागि जनचेतना जगाउन आग्रह गर्नुभयो । थारु कल्याण कारिणी सभा बाँकेका सभपति विनोद थारुले थारुहरुले अव आन्दोलन बाट नभई संबैधानिक आयोगबाट अधिकार खोज्नु पर्ने बताउनु भयो । थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य शम्भु प्रसाद थारुले सहजीकरण गरेको बधाई तथा सम्मान कार्यक्रममा थारु कल्याणकारिणी महिला सभा बाँकेका अध्यक्ष ललिता चौधरी, थारु पत्रकारसँघ नेपाल बाँकेका अध्यक्ष भगतराम थारु, निवर्तमान अध्यक्ष विमला चौधरीलगायतले राज्यको हरेक निकायमा थारु समावेसिताको सवाल उठाउन आयोगका सदस्य चौधरीलाई सुझाव दिनुभएको थियो । लामो समय सम्म नेपाल टेलीभिजनमा थारु भाषाको कार्यक्रम मार्फत थारु संस्कृतिलाई उजागार गर्दै आएका बाँके निवासी सुबोध सिंह थारु हालै मात्र थारु आयोगमा मनोनित हुनु भएको थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्