महामारीको संकटमा बि.गु्रपको सहयोग

0
122

बाँके(खजुरा), असोज २१-
भेरी वातावरणीय विशिष्ट समुह (बि–गु्रप)ले कोभिड–१९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न सहयोग गर्ने उद्देश्यले बुधबार खजुरा गाउँपालिका वडा नम्बर २ को कार्यालयलाई स्वास्थ्य सामाग्री र १ सय ५९ जना स्थानीयलाई बाल्टिन र साबुन प्रदान गरेको छ । बि.गु्रपले अक्सफामको साझेदारीमा सञ्चालन गरेको ‘स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना’ अन्तर्गत कोरोनाबाट बच्नका लागि स्वास्थ्य सामाग्री, स्थानीयलाई जनचेतनामा मुलुक कार्यक्रम गर्दै आएको छ ।

बि.गु्रपका कार्यसमिति सचिव टेकबहादुर पुनले उक्त सामाग्री खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया बिक र २ नम्बर वडा अध्यक्ष देवीलाल खनाललाई हस्तान्तरण गर्नु भएको होे । बि.गु्रपले गरेको सहयोग निकै महत्वपुर्ण भएको उपाध्यक्ष बिकले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीलाई खुसी लागेको छ, बि.गु्रपले अप्ठयारो अवस्थमा पनि हाम्रो गाउँपालिका र यहाँका जनतालाई सहयोग गरिरहेको छ, अहिलेको अवस्थमा स्थानीय तहले मात्र संकटसँग जुध्न सक्दैन, संकटको बेला हामी सबै मिलेर सहकार्य गर्नु पर्छ ।’ उपाध्यक्ष बिकले बि.गु्रपले प्रदान गरेको सामानको वडाले उचित तरिकाले प्रयोग गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ बि.गु्रपले सामाजिक क्षेत्रमा निकै राम्रा काम गर्दै आएको छ, अन्य कार्यक्रम पनि खजुरामा गर्ने तयारी गरेको छ, यसका लागि बि.गु्रप टिमलाई म सिंगो गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु, यसले हामीलाई निकै सहयोग गरेको छ । अप्ठयारोमा परेको मानिसलाई थोरै भएपनि सहयोग गर्नु राम्रो कुरा हो । यसका लागि बि.गु्रप बधाईको पात्र बनेको छ ।’ वडा अध्यक्ष खनालले प्राप्त भएको सहयोग सामाग्रीलाई लक्षित जनता र सेवाग्राहीको लागि प्रयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनको बेला हामीले वडामा राहत वितरण, कोरोना नियन्त्रण र रोकथामका लागि विभिन्न कार्यक्रम गरेका थियौं, अहिलेको अवस्थामा हामीलाई काम गर्न निकै समस्या परेको छ, बि.गु्रप जस्ता संस्थाले गरेको सहयोगलाई हामीलाई काम गर्न हौसला मिलेको छ ।’

बि.गु्रपले वडा कार्यालयलाई हात धुनका लागि प्रयोग गरिने एक हजार लिटर क्षमताको स्टिल ट्यांकी दुई थान, ह्यान्डवास लिक्वीड १ सय ७८ थान, ३२ इन्चको एक थान टेलिभिजन, पाँच लिटर क्षमताको एक थान अटोमेटिक स्यानिटाईजर मेसिन, ३० लिटरको ६ थान जर्किन स्यानिटाइजर, २ सय लिटरको ४० जर्किन हाइड्रो क्लोराइड र १६ लिटर क्षमताको एक थान हाइड्रो क्लोराइड स्प्रे ट्यांकी सहयोग गरेको छ । बि.गु्रपका कार्यसमिति सचिव पुनले सहयोगले वडालाई कोरोनाले सृजना गरेको समस्या र आइपर्ने संकटलाई कम गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गरेको सहयोग वडालाई प्रर्याप्त छैन, तर यसले थोरै भएपनि सहयोग गर्नेछ, हामीले दिएका सामान प्रयोग दिगो रुपमा होस भन्ने चाहना हुन्छ, आगामी दिनमा पनि वडासँग मिलेर समुदायको विकासका लागि काम गर्नेछौं ।’

परियोजनाका कार्यक्रम संयोजक प्रकाश शर्माले संकटको बेला समुदायमा रहेका विपन्न, संकटमा परेकाका समुदाय र व्यक्तिलाई लक्षित गरेर सहयोग कार्यक्रम अगाडी बढाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘लकडाउनले धेरै मानिसले रोजगारी गुमाएका छन्, हरेक क्षेत्र कोरोनाले प्रभावित भएको छ, यस्तो बेला विश्वले नै थुप्रै समस्याको सामना गर्नु परेको छ, समस्यामा परेको वर्ग र समुदायलाई सहयोग गर्नु कार्यक्रमको उद्देश्य हो ।’ स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना कार्यक्रम खजुरा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ८ मा सञ्चालन भइरहेको छ । जसअन्तर्गत सुरुवातमा १ नम्बर वडाका स्थानीय र वडा कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । बुधबार २ नम्बर वडाको पुल्चोक र सी. गाउँका सर्बसाधारणलाई सहयोग गरिएको हो । कार्यक्रममा २ नम्बर वडा सदस्य नन्दलाल गुर्तेल, बी.ग्रुपकी प्रतिनिधी दुर्गा पन्थी, ऋषी पोखरेल लगायतले सहयोग गर्नु भएको थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्