अलपत्र बिद्युतीकरण अगाडी बढाउन संघर्ष समितिले बुझायो ज्ञापन पत्र

0
177

बाँके, असोज २०-
राप्तीसोनारी नरैनापुर बिद्युत विस्तार संघर्ष समितिले विभिन्न निकायमा मंगलबार ज्ञापन पत्र बुझाएको छ । समितिले जिल्ला प्रशासन कार्यालय बाँके, बिद्युत प्राधिकरण प्रदेश पाँच डिभिजन कार्यालय नेपालगन्ज र राप्तीसोनारी गाउँपालिका कार्यालयमा उक्त ज्ञापन पत्र बुझाएको हो ।

समितिका संयोजक एवम् पुर्व सभासद पट्टु थारुले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ, बिद्युत प्राधिकरण प्रदेश पाँच डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुर र राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीलाई ज्ञापन पत्र हस्तान्तरण गर्नु भयो । ज्ञापन पत्र बुझाउने क्रममा दशकौंदेखी बिद्युत सेवाबाट बञ्चित राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीय बासिन्दा ठुलो संख्यामा सहभागी भएका थिए ।

ठेकेदार कम्पनीका सञ्चालक राजेन्द्र मिश्रले तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा दायर गरेको मुद्दा खारेज गरी बिद्युतीकरणको काम सुचारु गर्न ज्ञापन पत्रमार्फत माग गरिएको छ । ठेकेदारले अदालतमा दायर गरेको मुद्दा यथाशिघ्र फिर्ता नलिए राप्तीसोनारीका युवा, बृद्ध बृद्धा तथा महिलाहरु सडकमा उत्रिएर संघर्ष गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ । जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरिएको उक्त ज्ञापन पत्रमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली कांग्रेस, नेपाल बिद्युत प्राधिकरण, राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका, पत्रकार महासंघ लगायत निकायलाई बोधार्थ दिइएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ तथा नरैनापुरको अलपत्र बिद्युतीकरणको काम यथाशिघ्र सञ्चालनका लागि दवाव दिन सोमबार संघर्ष समिति गठन गरिएको थियो । राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा बिद्युतीकरण वितरण लाईन विस्तारका लागि २०६९ सालमा बिद्युत प्राधिकरण र ठेकेदारबीच ठेक्का सम्झौता भएपनि ९ वर्षसम्म कुनै काम सुरुवात नगरेपछि प्राधिकरणले सो टेण्डरलाई रद्ध गरी काम आफै अगाडी बढाउन खोजेको थियो । प्राधिकरणको उक्त कदमविरुद्ध ठेकेदार ‘उष्मा/गौरी पार्वती जेभी’ कम्पनीले मुद्दा दायर गरेपछि काममा अन्यौलता छाएको छ । संघर्ष समितिले छिटो छरितो बिद्युत सेवा उपलब्ध गराउन विभिन्न संघर्षका कार्यक्रम सोमबार नै तय गरेको थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्