राप्तीपारी अलपत्र बिद्युतीकरणको यस्तो छ नालीबेली

0
167

अर्जुन ओली/नेपालगन्ज, असोज १९-
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ तथा नरैनापुरमा बिद्युतीकरण गर्न पुनः कानुनी अड्चन देखा परेको छ । राप्तीसोनारी र नरैनापुरका ३ वटा वडामा बिद्युतीकरण गर्न ठेकेदार ‘उष्मा/गौरी पार्वती जेभी’ नामक कम्पनीले २०६९ चैत २१ गते सम्झौता गरेपनि लामो समयदेखी काम अलपत्र परेको थियो । ठेक्का सम्झौताको म्याद गुज्रिएको लामो समयपछि नेपाल बिद्युत प्राधिकरणले यही असोज ६ गते ठेक्का तोडेर काम आफै गर्न खोज्यो, तर प्राधिकरणले ठेक्का तोडेपछि ठेकेदार राजेन्द्र मिश्रले तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलास समक्ष रिट हालेपछि बिद्युतीकरणको काम अगाडी बढाउन कानुनी अड्चन देखिएको हो ।

अदालतमा अर्को मुद्दा परेपछि राप्तीपारी साबिक बैजापुर र नरैनापुर गाविसका स्थानीय बासिन्दा यतिबेला फेरी निराश बनेका छन् । बिद्युतीकरणको काम सुचारु गर्ने विषयमा प्राधिकरण, ठेकेदार र स्थानीय उपभोक्ता समितिबीच लामो समयदेखी विवाद छ । उक्त विवाद पटक पटक अदालतसम्म पुग्ने गरेको छ । यसअघि कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन निर्माणको जिम्मा लिएको सोही ठेकेदार कम्पनीले समयमा काम नगरेको भन्दै प्राधिकरणले ठेक्का तोडेको थियो । प्राधिकरणले ठेक्का तोडेपछि ठेकेदार कम्पनीले तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा रिट हालेको थियो । यस्तै स्थानीय उपभोक्ता समिति पनि प्राधिकरणविरुद्ध अदालतमा गएको थियो । उक्त मुद्दा अहिले पनि विचाराधिन अवस्थामा रहेको बताइन्छ ।

विवादका बीच प्राधिकरणले कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईनको काम गतवर्ष आफै सम्पन्न गरेको थियो । बिद्युतीकरणको विवाद पटक–पटक अदालतमा पुग्न थालेपछि बिद्युत सेवा उपभोग गर्न नपाएका स्थानीय आक्रोशित भएका छन् । यसका लागि स्थानीय बासिन्दाले संघर्ष समिति नै बनाएका छन् । पुर्व सभासद पट्टु थारुको संयोजकत्वमा गठित राप्तीसोनारी र नरैनापुर गाउँपालिका बिद्युत बिस्तार संघर्ष समितिले विभिन्न निकायमा ज्ञापन पत्र बुझाउने, दवाव सिर्जना गर्ने योजना बनाएको छ । संघर्ष समितिका संयोजक एवम् पुर्व सभासद थारुले बिद्युतीकरणको विवाद पटक–पटक अदालतमा पुग्दा कानुनी बाँधा, अड्चन आइरहेको बताए । ‘बिद्युतीकरणको विषयमा पटक–पटक मुद्दा मामिला भइरहेको छ, ठेकेदारले ठेक्का लिएपछि काम नै गरेन, उल्टो आफु अन्यायमा परेको भन्दै मुद्दा हाल्नु कहाँसम्मको अन्याय हो ?’ थारुले भने ‘राप्तीपारीका सिंगो जनतालाई ठुलो अन्याय भएको छ, जनताले न्याय पाउनुपर्छ ।’

ठेकेदारले बिद्युतीकरणको काम अलपत्र पारेपछि राप्तीसोनारी गाउँपालिकाले आफ्नो केही बजेट बिद्युतीकरणमा लगानी गरेको छ । गाउँपालिकाले वडा नम्बर ३ बाट गतवर्षदेखी नै बिद्युतीकरणको काम थालेको थियो । गतवर्ष २०७६/०७७ मा एक करोड ८९ लाख रुपैयाँ विनियोजन गरेकोमा चालु आर्थिक वर्ष २०७७/७८ मा पनि २ करोड रुपैयाँ छुट्याएको छ । गाउँपालिकाका अनुसार वडा नम्बर ३ मा बिद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ, भने वडा नम्बर ४ को काम पुरै बाँकी छ । उक्त वडामा प्राधिकरणले पुरानो ठेक्का तोडेर बिद्युतीकरणको बाँकी काम आफै गर्ने योजना बनाइरहेका बेला ठेकेदारले अदालतमा रिट हालेपछि प्राधिकरण अहिले अन्यौलमा परेको छ ।
ठेकेदारले अदालतमा मुद्दा हालेपछि बिद्युतीकरणको काम दु्रत गतिमा सम्पन्न गर्ने योजनामा ‘ब्रेक’ लागेको प्राधिकरण प्रदेश पाँच डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुर बताउँछन् । ‘बिद्युतीकरणको अधुरो काम अगाडी बढाउन हामीले ठेक्का तोडिसकेका थियौं, तर ठेकेदारले मुद्दा हालेपछि काममा फेरी ब्रेक लाग्यो,’ उनले भने । प्राधिकरणले राप्तीसोनारीको वडा नम्बर ५ मा भने छुट्टै ठेक्कामार्फत बिद्युतीकरणको कामलाई लगभग पुर्णता दिइसकेको छ । करिव एक महिनाअघि उक्त वडामा बत्ती बलेको थियो । यद्यपी, उक्त वडाका केही गाउँमा अझैपनि बिद्युतीकरणको काम बाँकी रहेको स्थानीय बताउँछन् ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु कसैले ब्यक्तिगत रुपमा आफुलाई न्याय माग्दा सिंगो समुदायलाई अन्याय गर्न नपाइने बताउँछन् । ठेकेदारतर्फ संकेत गर्दै अध्यक्ष थारुले भने, ‘कोही ब्यक्ति साच्चिकै अन्यायमा परेको छ भने उसले न्यायका लागि अदालतलाई गुहार्नु ठिकै हो, तर आफुले न्याय माग्दा हजारौं जनतालाई अन्याय गर्नु जायज कुरा होइन ।’ उनले अगाडी थपे, ‘प्राधिकरणले नियम/कानुन मिचेको भए ठेकेदारले न्याय पाउनुपर्छ, तर एउटा ब्यक्तिको स्वार्थकै कारण सिंगो समुदायलाई अधिकारबाट बञ्चित गर्नु हुदैन ।’ राप्तीपारी बिद्युतीकरणका लागि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ धामपुरमा निर्मित बिद्युत सव–स्टेशन अझैसम्म प्रयोगमा आउन सकेको छैन । उक्त सव–स्टेशन चार्जमा आएपनि प्रयोगमा नआउँदा प्राधिकरणले नरैनापुरका केही वडा र राप्तीसोनारीको वडा नम्बर ५ का लागि नेपालगन्ज वितरण केन्द्रको लाईन जोडेर तत्कालका लागि ‘काम चलाउ’ बिद्युत सेवा दिइरहेको छ ।

नागरिकन्युजबाट साभार

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्