कोरोनाबाट मृत्यु भएका युवकका परिवारलाई नरैनापुर गाउँपालिकाद्वारा ५० हजार प्रदान, घर बनाउन ३ लाख दिइने

0
86

बाँके, जेठ ३०-

कोरोनाबाट मृत्यु भएका युवकको परिवारलाई नरैनापुर गाउँपालिकाले ५० हजार रुपैयाँ प्रदान गरेको छ । अध्यक्ष इस्तियाक अहमद शाह आज मृतक युवकको घर वडा नम्बर ५ नयाँ बस्ती पुगेर परिवारलाई क्रिया खर्च स्वरुप ५० हजार रुपैयाँको चेक प्रदान गर्नुभएको हो । मृतक युवकका बुवा, आमा र श्रीमतीलाई उहाँले चेक हस्तान्तगरण गर्नुभएको हो ।

“अहिलेलाई क्रिया खर्च स्वरुप ५० हजार दिएका हौं, अब मृतकको परिवारलाई घर बनाउन गाउँपालिकाले ३ लाख रुपैयाँ दिन्छ,” अध्यक्ष शाहले भन्नुभयो-“बालबच्चाको लागि मैले पनि व्यक्तिगत ५० हजार रुपैयाँ दिन्छु ।” पीडित परिवारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने अध्यक्ष शाहले बताउनुभयो । “यो नराम्रो घटनाले हामी सबैको मन रुवाएको छ, यो दुःखको घडीमा मनलाई सम्हाल्नुस्, म हरेक पल तपाईंहरुसंगै छु,” अध्यक्ष शाहले पीडित परिवारलाई सान्त्वना दिँदै भन्नुभयो-“अब यी दुई बालबच्चाको भविष्य राम्रो बनाउन लाग्नुपर्छ, त्यसका लागि म हरपल सहयोग गर्न तत्पर छु ।” अध्यक्ष शाहले खाद्यान्न, तेल, नुन, दाल, झुल लगायतको राहत सामग्री पनि मृतक युवकको परिवारलाई प्रदान गर्नुभएको थियो । त्यस अवसरमा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, गाउँपालिकाका योजना शाखा प्रमुख विजय यादव, प्रशासन प्रमुख भरत महतो, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र लगायत हुनुहुन्थ्यो । गत जेठ ४ गते क्वारेन्टाइनमै बसेका बेला वडा नम्बर ५ नयाँ बस्तीका २५ बर्षीय युवकको मृत्यु भएको थियो । मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो । भारतको मुम्बइबाट आएका उनी भगवानपुरको दिपेन्द्र प्रावि क्वारेन्टाइनमा थिए । 

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्