रेडियो, टेलिभिजनबाट कक्षा सञ्चालन गर्नुपर्ने विज्ञको सुझाव

0
93

काठमाडौँ, बैशाख २७-
शिक्षा मन्त्रालयद्वारा गठित विज्ञ समितिले विद्यालय बन्द रहेका बेला रेडियो, टेलिभिजन र छपाइ सामग्रीसहित अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने औंल्याएको छ । सरकारले दूरशिक्षाको योजना बनाउँदा सञ्चार सामग्रीमा पहुँच नभएका र रेडियो, टीभीमात्रै साथमा रहेका विद्यार्थी–अभिभावकलाई विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । सहरी क्षेत्रका पनि ५० प्रतिशत विद्यार्थी मात्रै इन्टरेनटको पहुँचमा रहेकाले अन्य विकल्पको विस्तार गर्नुपर्ने समितिको निष्कर्ष छ । खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माको संयोजकत्वमा गठित समितिले अनलाइन कक्षालाई प्रभावकारी बनाउन राज्यले पूर्वाधार सुनिश्चित गर्नुपर्ने सुझावसहित शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाइसकेको छ । ‘गरिब परिवारका विद्यार्थीका लागि इन्टरनेटको शुल्क तिर्ने र अनलाइन अध्ययनका लागि चाहिने कम्प्युटर वा मोबाइल लगायत अन्य साधनको पहुँच छैन,’ प्रतिवेदनमा भनिएको छ ।

विद्यार्थीको ठूलो हिस्सा अनलाइन भर्चुअल प्रणालीको पहुँचबाहिर रहेकाले अन्य शिक्षण विधि सँगसँगै अघि बढाउन सुझाव दिइएको हो । समितिमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, शिक्षाविद्हरू सदस्य र ११ वटै विश्वविद्यालयका उपकुलपति सल्लाहकार थिए । समितिले अनलाइन कक्षामा मात्र जोड दिँदा विपन्न वर्गका विद्यार्थीलाई विभेद हुने ठहर गरेको छ । ‘अनलाइनबाट अध्ययन गर्न नसक्ने विद्यार्थीका लागि पनि पढ्ने व्यवस्था मिलाउनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अनलाइन कक्षा मात्रै भन्दा पहुँच नहुनेहरूमाथि पुनः अन्याय गरेको अवस्था सिर्जना हुन्छ र विद्रोहको रूप पनि नआउला भन्न सकिँदैन ।’ संकटका बेला शिक्षाक्षेत्रमा पनि सरकारले विशेष राहत प्याकेज ल्याउन जरुरी रहेको समितिले औंल्याएको छ । ‘आर्थिक प्याकेजको अभावमा शैक्षिक पात्रोलाई नखलबल्याई शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउन नसकिने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
युनिसेफले २०७४/०७५ मा गरेको अध्ययनमा पनि यहाँ कम्प्युटर र इन्टरनेटको सुविधा रहेका विद्यार्थीको संख्या ८ प्रतिशत मात्रै छ । त्यस्तै ३० प्रतिशत विद्यार्थीका घरमा रेडियो र ८० प्रतिशतको घरमा मोबाइल फोनको सुविधा छ । ३७ प्रतिशत बालबालिकाको घरमा टेलिभिजन रहेको तथ्यांक छ । रेडियो, टेलिभिजन, मोबाइल पनि नहुने विद्यार्थीलाई छपाइ सामग्री वितरणसँगै सिकाइ केन्द्रमा शिक्षक परिचालन गरेर अध्ययन गराउन सिफारिस गरिएको हो । संयोजक शर्माले अनलाइनमा मात्र जोड दिए अधिकांश बालबालिका शिक्षाको पहुँचबाट बाहिरै रहने बताउनु भयो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्