बाँके, (राप्ती सोनारी) पौष २१-

राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको छनौट तथा ५ औं राप्ती सोनारी गाउँपालिका अध्यक्ष कपका लागि तयारी अन्तिम चरणमा पुगेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय अगैयामा आगामी माघ ६ देखि ९ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेल मैदानमा माटो पटानको काम सम्पन्न गरि अतिथीहरुलाई निमन्त्रणा पठाईसकेकोे आयोजक विद्यालयले जनाएको छ । प्रतियोगितामा सहभागिताकालागि विद्यालयहरुले धमाधम नाम दर्ता गराउने प्रक्रिया पनि चलिरहेको आयोजक नेपाल राष्ट्रिय माध्यामिक विद्यालय अगैयाका प्रधान अध्यापक ओम प्रकाश थापाले जानकारी दिनुभयो । हाल सम्म एक दर्जन बढी विद्यालयले नाम दर्ता गराईसकेको उहाँले जाकारी दिनुभयो । गाउँपालिका अन्तर्गत ७२ वटा सामुदायिक तथा संस्थागत विद्यालयले प्रतियोगितामा सहभागिता जनाउँदै आएकोमा हाल दुईवटा संस्थागत विद्यालय बन्द रहेकोले प्रतियोगितामा करिव ५० वटा विद्यालयले सहभागिता जनाउन सक्ने उहाँको भनाई छ । प्रतियोगिताको लागि विद्यालय नजिकै रहेको खेल मैदानमा माटो पटान गरिसकेर आज भोली विद्यार्थीहरुले पीटी र मार्च पासकोलागि दैनिक जसो अभ्यास गरिरहेको प्रधान अध्यापक थापाले जानकारी दिनुभयो । राष्ट्रपति रनिङसिल्डको छनौट तथा चौंथो राप्ती सोनारी गाउँपालिका अध्यक्ष कप प्रतियोगिता गत बर्ष राप्ती सोनारी २ स्थित लक्ष्मी मावि मदुईले आयोजना गरेको थियो ।