बाँके(राप्तीसोनारी), चैत ३०-
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेतले कोरोना भाइरसले निम्त्याएको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जनमा समस्या रहेको भन्दै भोकै नबस्न आग्रह गर्नु भएको छ । उहाँले भन्नु भएको छ, ‘यो विषम परस्थितीका कारण तपाईको अनि तपाईको छर–छिमेकमा कसैको चुलो बलेन हामीलाई खबर गर्नुहोस्, हामी कसैलाई पनि भोकै मर्न दिदैनौं, जसलाई अति आवश्यक हो, उसले राहत पाउँछ, तपाईहरु ढुक्क हुनुहोस्, हामी सबै मिलेर यो परिस्थितीको सामना गरौं ।’ वडा कार्यालयले आफ्नो क्षेत्रका अति गरिब नागरिकलाई राहत वितरण गर्न तयारी अवस्थामा रहेको जनाएको छ । राप्तीसोनारी गाउँपालिकाले ९ वटै वडाबाट करिव ४ हजार अति गरिब परिवारको तथ्यांक संकलन गरेको थियो । ती परिवारलाई प्याकेजसहित राहत वितरणको काम सुरु गरिएको वडाध्यक्ष बस्नेतले बताउनु भएको छ ।