नेपालगन्ज, फागुन ५-
महिला उद्यमी संघ नेपाल, बाँकेको आयोजनामा नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०७९ सुरु भएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नमुनाले शुक्रबार प्रदर्शनीको उद्घाटन गर्नुभयो ।

नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा सुरु प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री नमुनाले प्रदर्शनको सफलतको शुभकामना दिनुभयो । घरमै उत्पादन गरेर निर्माण गरेका वस्तु र उत्पादनलाई प्रचार गर्नमा मेलाले ज्यादै सहयोगी भुमिका खेल्ने भएकोले मेलाको सदुपयोग गर्न उहाँले महिला उद्यमीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, –‘हाम्र्रो समाजमा महिलालाई अगाडी बढन त्यति सहज छैन, हरेक क्षेत्रमा महिलाको सहभागिता न्युन छ । ‘संविधानले व्यवस्था गरेको कुरा पनि पाउन सहज छैन । यस्तो अवस्थामा महिलाहरु आफैं आत्मनिर्भर भएर आफनो क्षमताको विकास गरेर अगाडी बढन सक्नु पर्छ । आफु मन्त्री भएको कारण महिला उद्यमीको भावना अनुसारको काम र एजेन्डालाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’

लुम्बिनी प्रदेश सासद माया पुनले घर व्यवहारको जिम्मेवारी निर्वाह गर्दै आर्थिक समृद्धिको क्षेत्रमा काम गर्नु महत्वपुर्ण कुरा भएको बताउनुभयो । महिलाहरु परिवर्तनको शिखरमा भएकोले उद्यमका क्षेत्रमा आत्मविश्वासका साथ अगाडी बढन जरुरी रहेको पुनले बताउनुभयो ।
लुकेर बसेका अवसर नपाउने महिलाहरुलाई प्रदर्शनीले ज्यादै नै ठुलो गुन लगाएको भन्दैं प्रदेश सभासद मिना श्रेष्ठले आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले निकै उत्कृष्ट कार्य गरिरहेको बताउनुभयो । संघको गतिविधिले महिलाहरुलाई गर्व गर्ने अवसर दिएको भन्दैं श्रेष्ठले संघका हरेक कार्यक्रममा आफुले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष निरुपमा रस्तोगीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदर्शनी संयोजक साबित्रा बस्नेतले महिला उद्यमीको अवस्थाको बारेमा बताउनुभएको थियो । नितु शाह चन्दले संचालन गरेको कार्यक्रममा महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेश संयोजक एवम् केन्द्रिय सदस्य सरस्वती शर्मा, महिला उद्यमी संघ नेपाल बाँके पुर्व अध्यक्ष कुसुम बस्नेतले शुभकामना मन्त्व्य राख्नुभएको थियो ।
नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा सुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु, उद्यम र उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । महिला उद्यमीलाई बजारीकरणमा सहयोग गर्दै प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र कर्णाली प्रदेशको सुर्खेतबाट समेत महिला उद्यमीहरु आएका छन् ।

फागुनको ९ गते सम्म चल्ने प्रदर्शनीमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान र सुर्खेत लगायतका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिनेछन् ।
नेपालगन्ज उप–महानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा सुरु भएको प्रदर्शनीमा करिब ६० वटा स्टल राखिएको आयोजकले बताएको छ ।