बाके (राप्तीसोनारी), बैशाख ३१-
कोहलपुरबाट कुसुमतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेको स्वेता पोलिक्लीनिकको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो कोहलपुरस्थित रोहिनी खोलामा दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा परेर पोलिक्लिनिकका संचालक मिनराज खड्का, चालक राप्तीसोनारी-४ निवासी गोपाल बुढा, सुत्केरीका श्रीमान राप्तीसोनारी-१ कुसुमका बिनोद परियार र उहाँका सासु सिता दमाई घाइते भएको प्रहरीले जनाएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट डिस्चार्ज भएकी चार दिनको सुत्केरीलाई कुसुम पुर्याउन जाने क्रममा दुर्घटना भएको थियो । एम्बुलेन्स सडकबाट तल खोलामा खसेको छ । घाइते सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको कोहलपुर प्रहरीले जनाएको छ । एम्बुलेन्समा ६ जना सवार रहेका थिए । दुर्घटनामा सुत्केरी र चार दिने बच्चालाई भने चोट लागेको छैन । घाइते चारै जनाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।