बाँके, राप्ती सोनारी असोज ३०-
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले समग्र गाउँपालिकालाई समृद्ध बनाउनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने औल्याउनुभएको छ ।
समृद्धिका लागि सञ्चार नेपाल, राप्ती सोनारी–२ अगैया बाँकेको शनिबार सामुदायिक होमस्टे ढकेरीमा आयोजित चौथो साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष पौडेलले भन्नुभयो, ‘समृद्धि जब सम्भव छ, तब सुशासन हुन्छ, जवाफदेहीता र पारदर्शिता सुशासनका पाटा हुन् ।’ सुशासनका लागि बहस हुन आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

राप्ती सोनारीलाई समृद्ध बनाउनमा जनप्रतिनिधी एक्लैले गरेर मात्र सम्भव नभएको उहाँको तर्क छ । ‘हामी जनप्रतिनिधीहरु भर्खरै आएका छौं, करिव पाँच महिना बित्दैछ, राप्ती सोनारी देशकै ठुलो गाउँपालिका मध्येको एक गाउँपालिका हो,’ पौडेलले भन्नुभयो ‘विविधतामा पनि एकता छ यो गाउँपालिकामा, स्रोतको सम्भावना पनि छ । तर, जनप्रतिनिधीले मात्रै गरेर सम्भव छैन ।’
गाउँपालिकालाई समृद्ध गराउने दायित्व नागरिक समाजको पनि भएको बताउनुभयो । राप्ती सोनारीलाई समृद्ध बनाउने अभियानमा लाग्न नागरिक समाजलाई अनुरोध गर्दै उहाँले यस्ता सामाजिक संघ, संस्थासँग गाउँपालिका कार्यालय सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो । गाउँपालिकाको महत्वपूर्ण आन्तरिक स्रोतका रुपमा रहेको नदीजन्य पदार्थको दोहनलाई सही तरिकाले ब्यवस्थापन गर्न नसकिएको उहाँको भनाई छ ।

पौडेलले थप्नुभयो, ‘यो दोहनको दोष जनप्रतिनिधीलाई मात्र दिएर हुदैन, यसमा जो–जो संलग्न छन्, त्यसलाई कारबाही स्थानीय सरकारले मात्र गरेर हुदैन, यसका विरुद्ध सञ्चार क्षेत्रले पनि आवाज उठाउनुपर्छ ।’ गाउँपालिकाका विविध समस्याका विषयमा बहस चलाउन जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमको पहिलो शत्रमा राप्ती सोनारी ८ का वडाअध्यक्ष शालिकराम डाँगी र वडा नम्बर ९ का वडाअध्यक्ष सोहनलाल चौधरीले पनि आफ्नो मन्तब्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष अर्जुन ओलीले राप्ती सोनारी क्षेत्रको समृद्धिका निम्ती २०७५ सालमा संस्था स्थापना गरिएको स्मरण गराउँदै स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सहयोगमा संस्थाले ग्रामिण क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको बताउनुभयो । संस्थाले राप्ती सोनारी गाउँपालिकामा रेडियो भूवर भवानी सञ्चान गरेर दुरदराजमा रहेका स्थानियलाई सूसूचित गर्नमा सहयोग पुर्याईरहेको उहाँले अवगत गराउनुभयो ।
उक्त कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्षका सचिवालय संयोजक पवनकुमार शाह, गाउँपालिकाका निर्वतमान उपाध्यक्ष धनीकुमारी खत्री लगायत अतिथी, संस्थाका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । संस्थाका उपाध्यक्ष कृष्ण केसीले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन संस्थाका सचिव एवम् अधिवक्ता चित्रबहादुर केसीले गर्नुभउको थियो ।
यस्तै कार्यक्रमको दोस्रो शत्रलाई सम्बोधन गर्दै राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले सामाजिक संस्थाहरु स्थानीय सरकारका सहयात्री भएको बताउनुभयो । ‘जहाँ सरकारको उपस्थिती हुन सक्दैन, त्यहाँ सामाजिक संस्थाको उपस्थिती हुनुपर्छ,’ उहाँले भननुभयो ‘स्थानीय सरकारका सेवा प्रवाहलाई चुस्त बनाउनका निम्ति पनि सामाजिक संस्थाहरुको उपस्थिती हुनुपर्छ ।’ गाउँपालिकाले सञ्चालन गर्ने आफ्ना कार्यक्रममा सहकार्य गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । साधारण सभामा संस्थाका अध्यक्ष ओलीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विमला चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सर्बसम्मत रुपले पारित गरिएको छ ।