तारा ओली
(राप्तीसोनारी), बैशाख २-
कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनबाट अति प्रभावित भएका परिवारलाई राहत वितरण गर्दा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा अनौठा घटना देखा परेका छन् । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेत सहितको टोलीले मंगलबार पेरानी, खल्ला गाउँ लगायत स्थानमा राहत वितरण गर्दा अनौठा घटना देखिएका हुन् । जसको घरभित्र चुलो बल्न पाएको छैन, त्यस्ता अतिपरिवारलाई घरमै पुगेर राहत बाँड्ने गाउँपालिकाको निर्णय कार्यान्वयन गर्न जनप्रतिनिधीले केहीदिन यता घरदैलोमार्फत राहत वितरणको काम गर्दै आएका छन् । तर, मंगलबार यहाँ यस्ता दृश्य देखिए, जसले राहत वितरण गर्न पुगेका जनप्रतिनिधीलाई चकित बनायो ।
घरदैलोका क्रममा केही स्थानीयले घरभित्र भएको चामल शौचालय र बाख्राको खोरमा लुकाएको फेला परेको हो । वडा नम्बर ८ का वडा अध्यक्ष बस्नेतले राहत वितरणको क्रममा घरदैलोमा पुग्दा दुई जना मध्ये एक जनाले बाख्राको खोरमा र अर्काले शौचालयमा चामल लुकाएर राहत मागेको बताउनु भयो । ‘घरमा रहेको दुई बोरी चामल शौचालय र बाख्राको खोरमा लुकाएर हामीसँग उहाँहरुले राहत माग्नु भयो,’ बस्नेतले भन्नुभयो ‘शंका लागेर शौचालय र बाख्राको खोरतिर हेर्दा त चामलका बोरा पो भेटिए ।’
लुकाएको चामल फेला परेपछि ती ब्यक्तिहरु लज्जित भएका थिए । उक्त टोलीले दुबै ब्यक्तिको नाम टिपेको र उनीहरुलाई आगामी दिनमा निगरानीमा राख्ने वडा अध्यक्ष बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यस्तो कठिन परिस्थितीमा पनि हामीले जनता भोकै होलान् भनेर घर–घरमा पुर्याउने काम गरिरहेका छौं, जनताले चाही बद्मासी गर्न थाले ।’ जनताको यस्ता कृयाकलापले राहत वितरणमा कठिनाई हुने बस्नेतले बताउनु भयो । घरदैलोका क्रममा कतिपय ब्यक्तिले अबैध रुपले मदिरा बनाइरहेको पनि टोलीले फेला पारेको छ ।
‘देश लकडाउनको अवस्थामा छ, यस्तो बेलामा खाद्यान्न जोगाएर राख्नुपर्ने हो, तर कतिपयले त घरमा रक्सी बनाउने काम पनि गरिरहेका रहेछन्, जनतामा चेतना नै भएन,’ उहाँले भन्नुभयो । जो भोकै छ, उनीहरुलाई मात्र अहिले प्राथमिकतामा रहेको भन्दै बस्नेतले राहत वितरणमा झुटो नबोल्न वडाबासीलाई अनुरोध गर्नु भएको छ । वडा नम्बर ८ मा १ सय ६० परिवारलाई पुग्ने राहत सामाग्री स्टक रहेको जानकारी दिदै उहाँले अहिलेसम्म एकदमै समस्यामा रहेका २२ परिवारलाई वितरण गरिसकेको बताउनु भयो । सो क्रममा प्रहरी, रेडक्रस, राजनीतिक दलका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।