बाँके, (राप्ती सोनारी) असोज १५-
राप्ती सोनारी गाउँपालिका –३ नम्बर वडा कार्यालयले सख्या नाचमा सहभागी विभिन्न सात गाउँका युवतीहरुलाई थारु पोशाक वितरण गरेको छ । वडाको ‘लक्षित वर्ग महिला कार्यक्रम’ अन्तर्गत थारु संस्कृती जगेर्नाकालागि शनिवार सख्या नाचको पोशाक वितरण गरेको हो । गाउँपालिकाको –३ नम्बर वडा अन्तर्गतका साईपुर, बर्का खरहनी, छुट्की खैरहनी, सिस्वा, दक्षिण बेलासपुर, दक्षिण नवलपुर, उत्तर नवलपुरका १४० जना युवतीलाई पोशाक वितरण गरेको वडा कार्यालयले जनाएको छ ।

दशैंमा सख्या नाच नाच्दै आएका सात गाउँका २०, २० जनालाई गुन्या र ब्लाउज वितरण गरिएको राप्ती सोनारी गाउँपालिका –३ का वडा अध्यक्ष मिन कुमार थारुले जानकारी दिनुभयो । सख्या नाचमा मादल बजाउने मादले र सख्या गीत गाएर नाच्ने युवतीको भूमिका बराबर भएपनि ‘लक्षित वर्ग महिला कार्यक्रम’ अन्तर्गतको बजेट रहेकाले युवतीहरुलाई मात्र पोशाक वितरण गरिएको अध्यक्ष थारुको भनाई छ । वडाले उक्त कार्यक्रमको लागी ४० हजार रकम छुट्याएको थियो । दशैंमा थारु समुदायले कृष्ण लिला तथा महाभारतमा आधारित गित गाएर महिनौं दिन सम्म नाचिने सख्या नाच पछिल्लो समय लोप हुँदै गएपनि राप्ती सोनारी ३ अन्तर्गतका सातवटा गाउँका युवा युवतीले निरन्तरता दिँदै आएका छन् । थारु परम्परागत संस्कृति जगेर्ना गर्दै आएका युवा युवतीलाई प्रोत्साहान स्वरुप सख्या नाचको लागि पोशाक वितरण गरिएको वडा अध्यक्ष थारुले बताउनुभयो । राप्ती सोनारी ३ स्थित जागृतिी सामुदायिक वन उपभोक्ता समुहको भवनमा आयोजित पोशाक वितरण कार्यक्रममा वडा अध्यक्षसँगै कार्यपालिका सदस्य सुमित्रा थारु, वडा सदस्य रिता दमाई, पुन्वा थारु, मंगल बहादुर ओली लगायतको उपस्थिती रहेको थियो ।