बाँके (राप्ती सोनारी) माघ ६–
बाँकेको राप्ती सोनारी गाउँपालिकाले आधा दर्जन राष्ट्रिय खेलाडीलाई नगद सहित सम्मान गरेको छ । शुक्रबारबाट सुरु भएको १५ औं राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिताको छौट तथा ५ औं राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा ६ जना राष्ट्रिय खेलाडीलाई गाउँपालिकाले नगद सहित सम्मान गरेको हो ।

गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल तथा उपाध्यक्ष मनिषा सिंह थारुले १२ औं र १३ औं साफ गेममा समेत सहभागीता जनाई सकेकी ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रीपल जम्प तर्फ स्वर्ण पदक हात पार्न सफल राप्ती सोनारी –२ निवासी शिला चौधरी र ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ गुणा ४०० रिले डौड तर्फ स्वर्ण पदक विजेता राप्ती सोनारी –२ निवासी रमिता चौधरीलाई जनही नगद १५ हजार सहति कदर पत्रले सम्मान गर्नुभयो । यसैगरी राष्ट्रिय खेलकुद प्रतियोगितामा ४०० मिटर डौड तर्फ रजत पदक विजेता राप्ती सोनारी –३ निवासी भागरथी थारु, राष्ट्रिय खेलमा ४ गुणा १०० रिले तर्फ रजत पदक विजेता राप्ती सोनारी –६ निवासी राम कुमारी थारु र राप्ती सोनारी –३ निवासी सम्झना थारुलाई गाउँपालिकाले जनही १० हजार नगद सहित कदर पत्रले सम्मान गरेको छ । यसैगरी राष्ट्रिय खेलमा ज्याब्लीन थ्रो तर्फ कास्य पदक विजेता राप्ती सोनारी –४ निवासी सिमा कुमारी थारुलाई नगद ५ हजार सहित कदर पत्रले सम्मान गरिएको छ । यसैगरी राष्ट्रिय खेलमा सहभागी राप्ती सोनारी –३ निवासी दिया सुनार, राप्ती सोनारी –६ निवासी स्वसीका थारु र सीता बुढाथोकीलाई कदर पत्रले सम्मान गरिएकोे छ ।

राष्ट्रिय खेलाडीलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले खेल र खेलाडीलाई राष्ट्रले त्यति धेरै सम्मान दिन नसकेको बताउनुभयो । उहाँले भन्नु भयो –‘नेपाली खेल जगतमा आशातित भविष्य नहोला तर पनि ययको वावजुद खोलाडीलाई सम्मान दिन प्रयत्न नगर्नु अपराध हो ।’ राप्ती सोनारी निवासी राष्ट्रिय खेलाडीलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको उहाँले बतानुभयो । सम्मान गर्नु भन्दा पहिले राष्ट्रिय खेलाडीलाई पञ्चेवाजाको झाँकी सहित गाडीमा बसालेर खेल मैदान परिक्रमा गराईएको थियो ।
