बाँके, (राप्ती सोनाारी) २७ भदौ–
राप्ती सोनारी गाउँपािलकाले थारु समुदायले मनाउने अट्वारी पर्वको अवसरमा यहि भदौ ३१ गते स्थानीय विदा दिने भएको छ । गाउँपािलका कार्यालयको मंगलबारको निर्णय अनुसार एक दिने स्थानीय विदा दिने निर्णय गरेको हो । यहि भदौ ३१ गते थारु समुदायको अट्वारी पर्व परेकाले उक्त दिन गाउँपालिका कार्यालय, मातहतका सम्पूर्ण कार्यालय तथा स्वाथ्य संस्था र शैक्षिक संस्थाहरुमा एक दिने स्थानीय विदा दिईएको गाउँपालिकाले बुधबार प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

विशेषगरी दाङ, बाँके, बर्दिया कैलाली, कञ्चनपुरसहित पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायले आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रूपमा ‘अटवारी’ पर्व मनाउने गर्दछन् । थारु समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा यो पर्व आइतबार प्रारम्भ भइ सोमबारसम्म मनाइने थारु अगुवाहरु बताउँछन् ।
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारका दिन प्रारम्भ हुने यो पर्व पछि आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मानिन्छ । ‘अट्वारी’ पर्वलाई विशेष महत्त्वका साथ मनाइने गरिएको छ । भाद्र शुक्ल पक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै अग्यारी काठबाट उत्पन्न गरिएको चोखो आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको छ । व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफुल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्ट्याई बाँकी भाग व्रतालुले खाने चलन रहेको छ । पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान पकाइएको परिकार विवाहित आफ्नी छोरी बहिनीको घरसम्म पु–याइदिने प्रचलन रहेको छ ।
महाभारत कालमा वनवास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनवासमा रहेको समयमा देखाएको बहादुरीको खुसीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको थारु समुदायका जानकारहरु बताउँछन् । व्रतालुले पकवान खानुअघि केही हिस्सा दिदीबहिनीका लागि निकाल्ने गर्छन्, जसलाई ‘कहार्नी’ तथा ‘अग्रासन’ भनिन्छ । व्रत बसेको दिन साँझ पख बहरी भन्ने कोठामा गाईको गोबरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन चार जना मिली आगो बालेर पवित्र रोटी र परिकार पकाउने गरिन्छ । रोटी र परिकार बनाउने ठाउँमा व्रतालुबाहेक अन्यलाई जान र छुनसमेत वर्जित हुन्छ ।