बाँके, (राप्ती सोनारी) फागुन २८-
राप्ती सोनारी गाउँपालिकाले आफ्नो छैठौं स्थापना दिवस मनाएको छ । गाउँपालिकाले आईतबार पहिलोपटक स्थापना दिवस मनाएको हो । नेपालको संबिधान २०७२ अनुसार संघिय सरकारले २०७३ साल फागुन २८ गतेका दिन देशभर ७ सय ५३ वटा स्थानीय सरकार स्थापना गरेको थियो ।
दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको सभापतित्वमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उपाध्यक्ष मनिषासिंह थारुले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले स्थानीय सरकारसँग जनताको धेरै ठुलो आशा र अपेक्षा रहेको बताउनुभयो। जनताका आशा र अपेक्षालाई पुरा गर्न चुनौती पनि रहेको उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष पौडेलले चुनौतीको सामना गरेर भएपनि गाउँपालिकाको समृद्धि र विकासका निम्ति सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । गाउँपालिकामा सबै राजनैतिकदलबाट मिश्रीतरुपमा चुनिएर आएका जनप्रतिनीधिहरु रहेको इगिंत गर्दै उहाँले भन्नुभयो, ‘यात्रामा हामी सबै सँगै छौं, यसमा सबैको साथ चाहिन्छ, राप्ती सोनजारीको समृद्धि र विकासका निम्ती हामी सबै एउटै डुंगामा नचढेर पार पाउने छैनौं, यसका लागि सबै लाग्नुपर्छ,’ पौडेलले भने । जनसंख्या र भौगोलिक हिसाबले ठुलो गाउँपालिका भएकाले सेवाग्राहीलाई सेवा दिन समस्या रहेको उहाँले बताउनुभयो । ‘जनताको धेरै ठुलो अपेक्षा र आशा पनि छ, जनप्रतिनिधी पनि मान्छे नै हो, तर जनप्रतिनिधीले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ,’ उनले भने ‘हामीले साझा चौतारी बनाउन सक्यौ भने राप्ती सोनारीमा धेरै काम गर्न सक्छौं ।’ यसअघि काम गरेका जनप्रतिनिधी र कर्मचारीलाई अध्यक्ष पौडेलले धन्यवाद ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा गाउँपालिकाका संस्थापक उपाध्यक्ष धनीकुमारी खत्री, बाँके निकुञ्ज अर्जुन बाण गणका गणपति अशोक खड्का, सशस्त्र प्रहरी बलका उपरिक्षक अशोक लम्साल, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारु, नेपाली काँग्रेस राप्ती सोनारीका सभापति भिमबहादुर राना, नेकपा एमाले राप्ती सोनारी उपाध्यक्ष मदन कुमार ओली, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, कारितास नेपालका जनक शर्मा, नहकुल के.सी. लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । मन्तव्यका क्रममा बक्ताहरुले राप्ती सोनारी गाउँपालिकाले जनतालाई अझै सहज रूपमा सेवा प्रबाह गर्न सक्नुपर्ने सुझाव दिनुभएको थियो । सिंहदरबारका अधिकारलाई गाउँ गाउँमा पुर्याउने संबिधानको परिकल्पनालाई साकार बनाउन जनप्रतिनिधी र कर्मचारीले जनताको हितका निम्ति काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडासदस्य, विभिन्न शाखाका प्रमुख, सुरक्षाकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियोे ।
