बाँके(ढकेरी) चैत्र ६-
बाँकेको राप्तीसोनारी -९ ढकेरी स्थित गणेश माध्यामिक बिद्यालयको कक्षा ११ र १२ मा पढ्ने छात्रालाई आइतबार साईकल वितरण गरिएको छ । राप्ती सोनारी गाउँपालिकाले बिद्यालयका ७८ जना छात्रालाई साईकल हस्तान्तरण गरेको हो । बिद्यालयका कुल ९७ जना छात्रालाई वितरण गर्ने योजना रहेकोमा आइतबार एकैदिन ७८ जनालाई हस्तान्तरण गरिएको हो ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, प्रतिनिधी सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पुर्णाकुमारी सुवेदी, लुम्बिनी प्रदेश सभाका सांसद कृष्णा केसी, गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री लगायतले छात्रालाई संयुक्त रुपमा साईकल हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले यसवर्ष गाउँपालिकाले छात्रालाई साईकल प्रदान गर्ने कार्यको सुरुवात मात्र गरेको बताउनु भयो । ‘हामीले यसवर्षबाट छात्रालाई मात्र साईकल वितरण गरेर यो कामको सुरुवात गरेका छौं, आगामी वर्षबाट बिद्यालयमा पढ्ने छात्र भाईहरुले पनि साईकल पाउनु हुनेछ,’ उहाँले भन्नु भयो ‘छात्रालाई मात्र साईकल दिदाँ भेदभाव गरेको जस्तो देखियो होला, तर अर्को वर्ष छात्रले पनि साईकल पाउनु हुन्छ ।’ गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि धेरै काम गरेको अध्यक्ष थारुले बताउनु भयो । सुरुमा ७ सय साइकल खरिद गर्ने योजना बनाएपनि कार्यक्रम सञ्चालन गर्न थालेपछि विद्यार्थीको संख्या बढेर १२ सय १७ पुगेको अध्यक्ष थारुले जानकारी दिनुभयो । । विद्यालय छोडेका छात्रालाई पुनः विद्यालयमा फर्काउने र टाढा रहेका बालिकाहरुलाई नियमीत विद्यालय आउन सक्ने वातावरण मिलाईदिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष थारुको भनाई छ ।
प्रतिनिधी सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदीले साईकल पाएपछि छात्रालाई शैक्षिक कुरा हासिल गर्न धेरै सहज हुने विश्वास गर्नुभयो । ‘छात्राले साईकल पाएपछि शैक्षिक गुणस्तर वृद्धिमा अवश्य पनि टेवा पुग्नेछ,’ उहाँले भन्नुभयो । साईकल पाउँदा उक्त बिद्यालयका छात्रा हर्षित भएका छन् । साईकल वितरणका क्रममा राप्ती सोनारी गाउँपालिका कार्यपालिका सदस्य मिना बिष्ट, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष घनबहादृर ओली, प्रधानाध्यापक हरिप्रसाद अधिकारी, बिद्यालय ब्यवस्थापन समितिका सल्लाहकार श्रीधर उपाध्याय र भाईराम ओली, शिक्षक, अभिभावक, बिद्यार्थी, सञ्चारकर्मी लगायत पनि उपस्थित हुनु भएको थियो ।
