बाँके, (राप्तीसोनारी) बैशाख १७-
राप्ती सोनारी गाउँपालिकाले शैक्षिक सत्र २०७९ देखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । गाउँपालिकाले स्थानीय पाठ्यक्रम कक्षा ( १ – ८ ) २०७८ हाम्रो राप्ती सोनारीको खाका निर्माण गरिसकेको छ । निर्माण गरिएको पाठ्यक्रमलाई पूर्णता दिनेबारे गाउँपालिकाले शनिवार शिक्षक तथा शिक्षा प्रेमीहरुवीच छलफल कार्यक्रम गरेको छ । राप्ती सोनारी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा छलफल गरिएको हो ।

छलफल कार्यक्रममा सहभागी शिक्षक्षकहरुले स्थानिय पाठ्यक्रमबाट विद्यार्थीहरुले ब्यवहारिक ज्ञान सिक्ने अपेक्षा गरेकाका छन् । सरस्वती माध्यामिक विद्यालय भवनियापुरका सहायक प्रधानाध्यापक पुष्पलाल चौधरीले भने –‘हामीले स्थानिय पाठ्यक्रम लागू नभएपनि स्थानिय विषयबस्तुलाई केन्द्रीत गरेर शिक्षण सिकाईको अभ्यास गराईरहेका थियौं, अव स्थानिय पाठ्यक्रमले झन सहजता हुने भयो ।’ पाठ्यक्रमको विषयबस्तु मोटामोटी रुपमा निर्माण गरिसकेको र छलफलपछि यसै शैक्षिक सत्रबाट लागू गर्ने तयारी गरेको राप्ती सोनारी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिनुभयो । स्थानीय पाठ्यक्रमको एक देखि आठ कक्षा सम्म राप्ती सोनारीको परिचय, हाम्रे सम्पदा र संस्कृतीहरु, हाम्रा पेशा, ब्यावसाय र प्रविधि, खुशीकालागि शिक्षा र जीवनपयोगी सिप, हाम्रो वातावरण, विपद ब्यवस्थापनलगायतका शिर्षकहरु समेटिएको उहाँले बताउनुयो । कक्षागत रुपमा पठ्यक्रममा फरक फरक विषय समेटीएको उहाँले बताउनुभयो । छलफल कार्यक्रममा पाठ्यक्रम अधिकृत युवराज अधिकारी, पुर्व उपसचिव जीत बहादुर शाहले स्थानीय पाठ्यक्रम कार्यान्यन र सिकाई बीधीको बारेमा सहजीकरण गर्नुभएको थियो । पाठ्यक्रम अधिकृत युवराज अधिकारीले स्थानिय पाठ्यक्रमबाट विद्यार्थीहरुले आफ्नो स्थानिय परिवेशका कुराहरु छर्लङ्ग बुझ्न सक्ने बताउनुभयो । कार्यक्रममा उहाँले पाठ्यक्रमको परिचय, क्षमता, कक्षागत सिकाई उपलब्धी, बिषयबस्तुको क्षेत्र, प्रयोगात्मक तथा परियोजना कार्य, सिकाई र सहजीकरण प्रक्रिया तथा बिद्यार्थीको मूल्याङ्कन गर्ने तरिका समेटिएको जानकारी दिनुभयो । कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगीले स्थानीय पाठ्यक्रमको ढाँचा अनुसार शिक्षकले पढाउन सक्ने तथा स्थलगत अध्ययन गरेर बुझाउन सक्ने वातावरण मिलाउन कठीनाई नहुने बताउनुभयो । छलफल कार्यक्रममा गाउँ पालिका अन्तर्गतका ५४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेका राप्ती सोनारी गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।