बाँके (राप्ती सोनारी) चैत्र ६–
राप्ती सोनारी गाउँपालिकाले भुमिहिन सुकुम्बासी, दलित तथा अब्यवस्थित बसोबास गरेकाहरुलाई सोमबारदेखि निस्सा वितरण सुरु गरेको छ । भुमिहिन सुकुम्बासी, दलित तथा अब्यवस्थित बसोबास गरेकाहरुको लगत संकलनपछि गाउँ पालिकाले वडा नम्बर ३ बाट निस्सा वितरणको काम सुरु गरेको हो । लगत संकलनपछि भुमिहिन सुकुम्बासी, दलित तथा अब्यवस्थित बसोबास गरिरहेको बारे वडाबाट प्रमाणित भएकाहरुलाई राप्ती सोनारी गाउँ पालिका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, राष्ट्रिय भूमि आयोग बाँकेका अध्यक्ष सर्वण कुमार यादव, वडा अध्यक्ष मिन कुमार थारुलगायतले ३ नम्वर वडा कार्यालयबाट संयुक्त रुपमा भुमिहिन सुकुम्बासीहरुलाई निस्सा सुरुवात गर्नुभयो ।

निस्सा वितरण गरेर १५ दिन भित्र जग्गा नाप जाँच गरेर लाल पूर्जा वितरण गरिने भुमि आयोग बाँकेका अध्यक्ष सर्वण कुमार यादवले आश्वासन दिनुभयो । ‘बाउ, बाजेका पालादेखि जोतभोग गर्दै आएको जग्गाको पहिलो प्रमाण नै निस्सा हो ।’ उहाँले भन्नु भयो –‘यहि निस्साको आधारमा जग्गा नाप जाँच भएर लालपूर्जा वितरण हुने छ ।’ यसअघि राजनैतिक दलहरुले भुमिहिन सुकुम्बासीको नाममा राजनीति गर्दै आएपनि कसैले समस्या समाधान गर्न नसकेको अवगत गराउँदै उहाँले अहिलेको आयोगले काम पूरा गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो । संविधानमा भुमिहिन सुकुम्बासी, दलित तथा अब्यवस्थित बसोबास गरेकाहरुलाई पूर्जा दिनेबारे कार्यविधि, ऐन, कानुन सबै बनिसकेकोले अव पूर्जा वितरणमा समस्या नहुने उहाँको भनाई थियो ।
निस्सा वितरण कार्यक्रलाई सम्बोधन गर्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले भुमिहिन, सुकुम्बासी, दलित तथा अब्यवस्थित बसोबासको समस्यालाई पहिलो प्राथमिकामा राखेको बताउनुभयो । बर्षौँदेखि जोत भोग गर्दै आएको जग्गाको पहिलो प्रमाणका रुपमा निस्सा वितरण गरिएको बताउँदै उहाँले प्रक्रिया अनुसार सबैलाई लालपूर्जा वितरण गरिने बताउनुभयोे । निस्सा वितरणको काम पछि १५ दिने सूचना जारी गरेर यथाशिघ्र नापजाँचको कामलाई अगाडी बढाउन आयोगका कर्मचारीलाई अध्यक्ष पौडेलले आग्रह गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्दै संविधानसभाका सदस्य पट्टु थारु, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, ३ नम्बर वडाका वडा अध्यक्ष मिन कुमार थारुलगायतले भूमि आयोगको कम प्रति प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका विज्ञ अशोक प्रसाद पोख्रेल, जिल्ला सदस्य मिना सिक्देल, वडा सदस्यहरु, विभिन्न पार्टी प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । पहिलो दिन करिव २०० बढी भूमिहिन, सुकुम्बासी, दलितलाई निस्सा वितरण गरिएको र मंगलबार अब्यवस्थित बसोवास गरिरहेकाहरुलाई वितरण गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष मिन कुमार थारुले जानकारी सिदनुभयो ।
