बाँके (राप्ती सोनारी )चैत्र ३०-
राप्ती सोनारी गाउँपालिका क्षेत्रभित्र सञ्चालित बिद्यालयको कक्षा मिलान गर्ने प्रक्रिया अगाडी बढाएको छ । प्रावि र निमावि तहसम्म सञ्चालित न्युन बिद्यार्थी संख्या भएका बिद्यालयलाई नजिकको बिद्यालयमा कक्षा मिलान गर्ने प्रक्रिया सुरु गरिएको हो । राप्ती सोनारी गाउँपालिकाले यस विषयमा प्रारम्भिक रुपमा सरोकारवालासँग छलफल अगाडी बढाएको छ । गाउँपालिका कार्यालय अगैयामा स्थानीय जनप्रतिनिधी, शिक्षा शाखा, सम्बन्धित बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षकका प्रतिनिधीबीच छलफल भएको हो । गाउँपालिकाका अनुसार कक्षा ५ र ८ सम्म पढाई हुने कुल १४ वटा बिद्यालयको कक्षा मिलान गर्ने प्रस्ताव गरिएको छ । जस अनुसार राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ मा मात्रै कक्षा ५ सम्म सञ्चालित ६ वटा बिद्यालय रहेका छन् । अन्य वडाबाट १र१ वटा बिद्यालयको कक्षा मिलान गर्ने प्रस्ताव गरिएको शिक्षा शाखाले जनाएको छ । राप्ती सोनारी २ मदुवामा रहेको जय दुर्गा आधारभुत बिद्यालयका कक्षा ६, ७ र ८ का बिद्यार्थीलाई नजिकै रहेको लक्ष्मी माध्यामिक बिद्यालय मदुईमा मिलान गर्ने प्रस्ताव गरिएको छ ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले थोरै बिद्यार्थी भएका बिद्यालयलाई नजिकको बिद्यालयमा मिलान गर्दा शैक्षिक गुणस्तर बढ्ने बताउनु भयो।
छलफलका क्रममा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलसहित उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने, विभिन्न वडाका वडाअध्यक्ष, गाउँ शिक्षा समितिका पदाधिकारी, सम्बन्धित बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक संघ राप्ती सोनारी सचिव खडानन्द डाँगी लगायतको उपस्थिती रहेको थियो ।