बाँके, जेठ १३ –
बाँकेका ८ सहित आज देशभर ९० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ९० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि गरेको छ। मङ्गलवार अपराह्ण नियमित प्रेस ब्रीफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ७७२ पुगेको जानकारी दिए ।
भेरी अस्पतालमा गरिएको परिक्षणमा नेपालगञ्ज उपमहानगरपालिका २ का एक पुरुष, डुडुवा–१ का २० वर्षीय पुरुष, डुडुवा–२ का २१, ३६ र ४० वर्षीय पुरुष, राप्तीसोनारी–३ का ४६ वर्षीय पुरुष र राप्तीसोनारी–९ का ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।बाँकेको बैजनाथमा भने आज पहिलोपटक संक्रमण देखिएको छ । बैजनाथ–३ का ३० वर्षीष पुरुषमा संक्रमण देखिएको हो ।
बाँके बाहेक आज संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, सिराहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २/२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एक/एक जना छन् । यो सँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ ।
हालसम्म सबैभन्दा बढी बाँकेमा १५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुमा १०९, पर्सामा ९५, रौतहटमा ६९ र रुपन्देहीमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एकरएक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन् । मङ्गलवार अपराह्णसम्म देशका विभिन्न स्थानमा ५५,२८२ जना क्वारन्टीनमा भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो अहिलेसम्म क्वरान्टीनमा भएका मानसिको सर्वाधिक सङ्ख्या हो। तीमध्ये प्रदेश नं ५, प्रदेश नं २, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका क्वारन्टीनमा सर्वाधिक सङ्ख्यामा मानिसहरू छन्। उनीहरू अधिकांश भारतबाट फर्किएका हुन्।