बाँके राप्ती सोनारी माघ १९-
विश्व सिमसार दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा १० वटा घडियाल गोही छोडेको छ । दिवसको अवसरमा बर्दियाबाट ल्याइएको अति संकटापन्न सूचीमा रहेका १० वटा घडियाल गोही लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी नमुनाको हातबाट बिहीबार राप्तीसोनारी गाउँपालिका –१ बाँसखोली भवनियापुर घाट स्थित राप्ती नदीमा छोडिएको हो ।

सो अवसरमा बोल्दै मन्त्री केसीले सिमसार क्षेत्रको पुनर्स्थापना आजको प्रमुख आवश्यकता भएको जनाउँदै जलचर प्राणीको संरक्षण पनि अति महत्वपूर्ण रहेको बताउनुभयो । जलचर प्राणी मध्य विश्वमा अति संकटापन्न सूचीमा रहेका घडियाल गोहीलाई प्राथमिक बासस्थानमा संरक्षण गर्न चूनौती रहेको बताउँदै मन्त्री नमुनाले स्थानिय वासिन्दा स्वयं यसको संरक्षण गर्न सके गोहीलाई नै पर्यापर्यटनसँग जोड्न सकिने सुझाव दिनुभयो । यसको संरक्षण्कोलागि नदीमा आश्रित खुना, सोनाहा, बादीलगायत समुदायको बैकल्पीक पेशा ब्यवस्था गर्ने तर्फ आफु लागि पर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

घडियाल गोहीको विशेषता बारे जानकारी दिँदै राष्ट्रिय प्रकृती संरक्षण कोष बर्दियाका प्रमुख रविन कडरियाले यसबाट प्रकृति, प्राणी, मानव जीवन र समग्र इको सिस्टममा यसले सन्तुलित भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले सिमसारले विभिन्न दुर्लभ प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान दिनुका साथै जलस्रोत संरक्षण, बहाव र गुणस्तर कायम राख्ने बताउनुभयो । यस्तै बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले घडियाल गोहीले ताजा माछा मात्र खाने भएकाले मानवलाई क्षति नपु¥याउने बताउनुभयो । विश्वमा भारत र नेपालमा मात्र पाईने अति संकटा पन्न सूचिमा रहेका गोही हाल चितवनको नारायणी, राप्ती, बर्दियाको बबई, बाँकेको राप्ती र कैलालीको मोहना नदीमा धेरै संख्यामा देखिएपनि अ प्राकृतक रुपमा नदी उत्खनन्, बिषादी प्रयोगबाट माछा मार्ने कार्यले घडियाल संरक्षणमा चूनौति थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिमसार एक गतिशील, विविधतायुक्त उर्वर पारिस्थितिक प्रणाली हो । यो जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान् प्राकृतिक प्रणालीको अंश हो । यसको संरक्षण अति नै आवश्यक छ ।

मानव जीवनका लागि सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व बढाउन र जैविक विविधताको दिगो व्यवस्थापन गरेर राष्ट्रिय र स्थानीय अर्थतन्त्रमा योगदान गर्न सिमसारले स्रोतका रूपमा काम गरिरहेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार नेपालको करिब सात लाख ५० हजार हेक्टर भूभाग सिमसार क्षेत्रले ओगटेको छ भने नौ वटा सिमसार क्षेत्र अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत रहेका छन् ।
