बाँके (राप्ती सोनारी ),मंशिर १८-

राप्ती नदीमा डुबेर शनिवार दिउँसोदेखि बेपत्ता रहेका राप्ती सोनारीका दुई किशोरीको शव भेटिएको छ । बयर टिप्न जाँदै गर्दा राप्ती नदिमा डुबेर बेपत्ता भएका राप्ती सोनारी गाउँपालिका वडा नं. ६ डाँडा टेपरीका २२ बर्षिया कन्चन थारु र १३ बर्षिया अर्चना थारुको शव आईतबार विहान ९ बजे खल्ला टेपरी नजिकै भेटीएको हो । किशोरीहरु नदीमा डुबेर बेपत्ता भएको खबर पाए लगत्तै स्थानियवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले खेजी कार्य गरेपनि शनिवार बेलुका सम्म नभेटीएको राप्ती सोनारी- ६ का वडा अध्यक्ष लबराज खरेलले जानकारी दिनुभयो । आईतबार विहानै देखि पुनः खोजी गर्दा डुबेको स्थानदेखि करिब ३ सय मिटर दक्षिण तर्फ दुबै किशोरीको शव रुखको जरामा अड्कीएको अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो । वडा अध्यक्ष खरेलले भन्नु भयो –‘बेपत्ता किशोरीहरुको शव खोजी कार्यकालागि सहज होस भनेर अगैया स्थित सिक्टा सिंचाईको बाँधमा रहेका ढोका बन्द गर्न लगाईएको थियो, फेरी ढोका खोलेपछि पानीको बहावले शवलाई नदिको तिरमा फालेर भेटियो ।’ अस्थायी प्रहरी चौकी फत्तेपुर (ख) का इन्चार्ज सई यम बहादुर बस्नेतका अनुसार बयर टिप्न जाँदै गरेका ७ जना किशोरी मध्ये ५ जना पौडी खेलेर बाँच्न सफल भएका थिए भने कञ्चन र अर्चना बेपत्ता भएका थिए ।