बाँके (राप्ती सोनरी) साउन ९-

बाँकोको राप्ती सोनारी –४ लालपुर घाट स्थित राप्ती नदीको टापुमा फसेका पाँचजनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । लालपुरको उत्तर तर्फ नदीको टापुमा अवस्थित गौशालामा गाई रेखदेख गर्न गएका स्थानियलाई ईलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोलीले मंगलबार दिउँसो २ बजेतिर उद्धार गरेको हो । उनीहरु विहानै गौसालामा गएको तर दिउँसो नदीमा एक्कासी पानीको सतह बढेपछि टापुमै फसेको अवस्थामा उद्धार गरिएको ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज प्रहरी वरिष्ठ नायव निरिक्षक लक्ष्मी प्रसाद आचार्यले जानकारी दिनुभयो । टापुमा फसेका राप्ती सोनारी –४ पसरामपुरका ५३ बर्षिय मायाराम थारु, ५१ बर्षिया बतासी थारु, ५५ बर्षिय चुकीराम थारु, ५० बर्षिय लोक बहादुर थारु र राप्ती सोनारी –४ सूर्यलालपुरका ३२ बर्षिय आशाराम थारुलाई ट्युव र सेफ्टी ज्याकेटको सहयाताले सकुशल उद्धार गरिएको प्रहरी ईचार्ज आचार्यले जानकारी दिनुभयो । लालपुरको उत्तर तर्फ राप्ती नदीको भङ्गालो र राप्ती नदीको बीच टापुमा रहेको नर्सरीमा गौशाला रहेको छ । राप्ती नदीमा पानीको सतह बढेपछि टापुको दक्षिण तर्फको भङ्गालोमा समेत बाढी आएपछि उनीहरु अलपत्र परेका थिए । गौशालामा रहेका गाईहरुको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । टापुमा फसेका आशाराम थारुले राप्ती सोनारी – ४ का वडा सदस्य मंगल थारुलाई फोन मार्फत जानकारी गराएपछि प्रहरीसमक्ष सूचना पुगेको र समयमा उद्धार गर्न सफल भएको राप्ती सोनारीका स्थानीय पत्रकार ईश्वरी के.सीले जानकारी दिनुभयो ।