बाँके (राप्ती सोनारी) फागुन १६-

राप्तीसोनारी गाउँपालिकामा हात्तीपाईले रोग विरुद्धको औषधी अहिलेसम्म ७७ प्रतिशत भन्दा बढीले सेवन गरेका छन् । आम औषधी सेवन अभियान अन्तरगत गाउँपालिकाका १ देखी ९ वटै वडाका वडाध्यक्षहरुले यही फागुन ११ गते हात्ती पाईले रोग विरुद्धको औषधी खाएर उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार केसीले दिएको जानकारी अनुसार गाउँपालिकाको ९ वटै वडामा छैठौं दिनसम्म कुल ४७ हजार ७ सय ३ अर्थात ७७.३० प्रतिशतले औषधी सेवन गरेका हुन् । अभियान अन्तरगत पहिलो दिन १२ हजार ९ सय ३० जनाले औषधी सेवन गरेका थिए । यस्तै दोस्रो दिन १२ हजार ६ सय ५२, तेस्रो दिन ६ हजार ६ सय ४५, चौथो दिन ७ हजार ७ सय ३०, पाँचौं दिन ४ हजार ९ सय ९३ र छैठौं दिन २ हजार ७ सय ५३ जनाले औषधी सेवन गरेको शाखा प्रमुख केसीले बताउनुभयो । गाउँपालिकाले कुल ६१ हजार ७ सय १३ जनालाई औषधी खुवाउने लक्ष्य राखेकोमा अझै १४ हजार १० जना औषधी खान बाँकी रहेका छन् । अभियान अन्तरगत प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थामा औषधी खुवाउने कार्यक्रम सञ्चालन गरिएको छ । स्वाथ्यकर्मीसहित घरदैलोमा खटिएका महिला स्वाथ्य स्वयंसेविकाहरुले रोजगारीको शिलशिलामा देश बाहिर रहेकाहरु मात्र औषधी खान छुटेको बताउँछन् । अभियानका क्रममा घरबाहिर रहेका र अन्य औषधी सेवन गरिरहेका दिर्घ रोगीहरुलगायत औषधी खान नमिल्ने सुत्केरीहरुको समेत तथ्यांक संकलन गरिरहेको राप्ती सोनारी ३ का महिला स्वाथ्य स्वयंसेविका फूलकुमारी थारुले बताउनुभयो । हात्ती पाईले रोग विरुद्धको औषधी ढुक्कसँग सेवन गर्न स्वाथ्यकर्मी तथा जनप्रतिनीधिले सबैलाई आग्रह गरेका छन् ।