राप्तीसोनारी, असोज १९-
राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ तथा नरैनापुरमा अलपत्र बिद्युतीकरणको कामलाई अगाडी बढाउन पुनः समस्या बल्झिएको छ । ठेकेदार कम्पनी ‘उष्मा गौरी पार्वती जेभीले २०६९ चैत २१ गते सम्झौता गरेपनि अहिलेसम्म उक्त वडामा काम सुरु गरेको छैन । तोकिएको समयभित्र काम नगरेको भन्दै नेपाल बिद्युत प्राधिकरणले यही असोज ६ गते ठेक्का तोेडेको थियो । प्राधिकरणले ठेक्का तोडेपछि ठेकेदार कम्पनीले फेरीपनि तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलास समक्ष अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गरेको बिद्युत प्राधिकरण प्रदेश पाँच डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो । मुद्दा परेपछि बिद्युतीकरणको काम रोकिने उहाँले बताउनु भयो ।
