बाँके, असोज १९-
प्रदेश पाँच सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउन प्रदेश सभामा पेश गरेको प्रस्ताव सर्वसम्मत रुपले पारित गर्न नेपाली कांग्रेस बाँकेले आग्रह गरेको छ । प्रदेश पाँचको अस्थायी राजधानी बुटवलबाट अन्यत्र सार्न नहुने माग गर्दै रुपन्देही कांग्रेस र उसको भातृ संगठन आन्दोलित भइरहेका बेला बाँके कांग्रेसले उक्त प्रस्ताव पारित गर्न आग्रह गरेको हो । नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले एक विज्ञप्ती जारी गर्दै प्रस्तावित नाम र स्थानलाई प्रदेश सभाबाट यथाशिघ्र पारित गरी कार्यान्वयनमा लैजान माग गर्नु भएको हो ।

सरकारले प्रदेश पाँचको अस्थायी राजधानी रुपन्देहीको बुटवललाई घोषणा गरेपछि बाँके र बर्दियाबासीले यसअघि असन्तुष्टी जनाउँदै आएका थिए । प्रदेश राजधानीका हिसाबले बुटवल पायक नपर्ने भन्दै बरु बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने माग यहाँ जोडदार रुपले उठेको थियो । ‘अहिले यस क्षेत्रका जनताको व्यापक जनदवाबका कारण प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी भालुवाङमा राख्ने प्रस्तावको निर्णय भएको छ,’ विज्ञप्तीमा भनिएको छ ‘बाँके जिल्लाका जनताको भावनालाई नसमेटिएता पनि प्रस्तावित राजधानी भौगोलिक रुपले ५ नम्बर प्रदेशका सबै जिल्लाहरुको शुलभ पहुँच हुने भएकोले प्रदेशको नाम र स्थान उपयुक्त रहेको हुँदा नेपाली कांग्रेस बाँकेले यसलाई सकारात्मक रुपमा लिएको छ ।’
कांग्रेस बाँकेले पटक–पटक साकिक मध्यपश्चिम क्षेत्रको औद्योगिक स्थलको रुपमा परिचित नेपालगन्जलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन सरकारका सम्बन्धित निकायहरुमा डेलिगेशनसहित माग राखी दवाव मुलक कार्यक्रमहरु सञ्चालन गरेपनि सुनुवाई नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रदेश राजधानीको विषयमा विभिन्न वहानामा जनताका भावनालाई खेलवाड गर्दै षडयन्त्र गरिएको कांग्रेस बाँकेको ठहर छ ।