बाँके (राप्ती सोनारी) चैत्र १०-
बाँकेका अधिकारकर्मीले सरकारद्धारा जारी मानव अधिकार राष्ट्रिय कार्य योजना कार्यान्वयन गर्नका लागी राप्ती सोनारी गाउँपालिकाको ध्यानाकर्षण गराउनुभएको छ । अधिकारकर्मीले शुक्रबार गाउँपालिका कार्यालयमा पुगेर पालिका अध्यक्ष तप्त बहादुर पौडेल र प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाको ध्यानाकर्षण गराउनुभएको हो । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दयाराम पाठक, नेपालगंज उच्च बारका पुर्व अध्यक्ष अधिवक्ता बल बहादुर चन्द लगायतका अधिकारकर्मीले पालिकाले पालिका प्रमुखको संयोजकत्वमा स्थानिय स्तरमा संयन्त्र गठन गरेरै मानव अधिकार राष्ट्रिय कार्य योजनाको कार्यान्वयन गर्नु पर्ने तर हालसम्म त्यसो हुन नसकेको जनाउँदै स्थानिय संरचना निर्माण गरेर कार्यान्वयनमा ल्याई नमुना पालिका बन्न अनुरोध गर्नुभएको थियो । अधिकारकर्मीले बाँके गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल र प्रमुख प्रसासकीय अधिकृत ओम प्रकाश देवकोटालाई मानव अधिकार राष्ट्रिय कार्ययोजना सम्बन्धी पुस्तक समेत हस्तान्तरण गर्नुभएको थियो ।
अधिकारकर्मीको ध्यानाकर्षण पश्चात पालिका अध्यक्ष पौडेल र पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले मानव अधिकार राष्ट्रिय कार्य योजनालाई पालिकाले चाडै कार्यान्वयमा लैजाने प्रतिवद्धता जनाउनुभएको थियो ।