बाँके (राप्तीसोनारी) माघ ८-
लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना)ले बाँकेको बर्फानी र शन्तानेश्वर मन्दिर परिसरमा तत्काल हेली प्याड बनाउन लागि पर्नुभएको छ । आगामी माघ १५ गते देखि नेपालगञ्जमा हुने ‘वेष्टर्न ट्राभल मार्ट’ मा आएका पर्यटकहरुलाई अवलोकन गराउने उद्देश्यले एक शाता भित्र उक्त क्षेत्रमा हेलीव्याड बनाउन लागिपर्नुभएको हो । हेलीप्याड बनाउन सकिने स्थान अवलोकनकालागि मन्त्री नमुना शनिवार ‘बर्फानी बाबा’ मन्दिर र आईतबार ‘सन्तानेश्वर बाबा’ मन्दिर पुग्नुभएको थियो । स्थानिय जनप्रतिनीधि सहित दुबै मन्दिर परिशरमा पुग्नुभएकी मन्त्री नमुनाले हेलीप्याडकोलागि उपयुक्त ठाउँ छनौट गरी तत्काल निर्माण कार्य थाल्न निर्देशन दिनुभयो ।

बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने चुरे क्षेत्रमा अवस्थित ‘बर्फानी बाबा’ मन्दिरमा शनिवार पुगेर मन्त्री नमुनाले श्री श्री १००८ केशव गिरी (बर्फानी बाबा)सँग त्यहाँको मुख्य आवश्यकताको विषयमा छलफल गर्नुका साथै सम्वन्धित वडा अध्यक्ष मिनराज खड्कालाई तत्काल हेली प्याड बनाउन निर्देशन दिनुभयो । यस्तै आईतवार नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित चुरे पहाडमा अवस्थित ‘सन्तानेश्वर बाबा’ मन्दिर पुगेर पुजारी महन्त श्री योगानन्द गिरीसँग त्यहाँका समस्याका बारेमा मन्त्री नमुनाले छलफल गर्नुभयो । छलफलका क्रममा पुजारी गिरीले खानेपानी, शौचालय, आश्रम, सडक, कलात्मक सौन्दर्यसहितको आधुनिक किसिमको मन्दिर निर्माण लगायतका समस्याहरु समाधानका लागि पहल गरिदिन मन्त्री नमुनासँग आग्रह गर्नुभयोे । उहाँले नरैनापुरको कोलाहाबाट जङ्गलको बिचमा पर्ने चक्लेपाथर भन्ने स्थानसम्म मोटर बाटोको स्तरोन्नति र त्यसपछि मन्दिरसम्म पुग्नका लागि रेलिङ्सहितको सिढी बनाइदिन आग्रह गर्नुभयोे । छलफलका क्रममा मन्त्री नमुनाले शन्तानेश्वर मन्दीरको सिमाना पर्ने राप्ती सोनारी ७ का वडा अध्यक्ष रामलखन थारु र नरैनापुर ६ का वडा अध्यक्ष प्रेमचन्द्र मौर्यलाई स्थानिय स्तरबाट गर्न सक्ने सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले ‘वेष्टर्न ट्राभल मार्ट’ लाई लक्षित गरि तत्काल हेलीप्याडको काम थाल्न वडा अध्यक्ष द्वयलाई निर्देशन समेत दिनुभयो ।

मन्त्री नमुनाको निर्देशन पछि सम्बन्धित वडा अध्यक्षले भोलीपल्टबाटै काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । एकशाता भित्र हेलीप्याड बनाएर ‘वेष्टर्न ट्राभल मार्ट’ मा आएका पर्यटकलाई यस बर्ष अवलोकन गराई छाड्ने मन्त्री नमुनाले जिकिर गर्नुभयो । मन्त्री नमुनाले यहाँको विकासका लागि आफुले सम्पुर्ण रुपले सहयोग गर्ने बताउनुभयो । उहाँले खानेपानी समस्या समाधान गर्न आफू तत्काल लागिपर्ने बताउँदै सडक, स्टेप सिढी, बाबाको आश्रम तथा आधुनिक किसिमको मन्दिर निर्माण लगायतका कार्यहरु पूरा गर्नका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।