मङ्सिर २९ गते नेपालगञ्जमा नेपथ्य लाइभ कन्सर्ट, टिकट विक्री सुरु

0
127

नेपालगञ्ज, कार्तिक २५ –


विगत एक दशकदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमले नेपालगञ्जमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागेको छ । नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमको भवन निर्माण र आश्रममा आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापना गर्नका लागि नेपालगञ्ज सहित देशका १० शहरहरुमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रम मङ्सिर २९ गते नेपालगञ्ज रङ्गशालामा हुने मानव सेवा आश्रमले जनाएको छ ।

नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नेछन् । नेपथ्य ब्याण्डले यसअघि विभिन्न देश परिवर्तनका नाराहरुसहित कार्यक्रम गर्दै आइरहेकोमा सन् २०२२ मा हुने यस यात्रालाई मानवताका लागि संगीत यात्रा २०२२ नाम दिएको छ ।

मानव सेवा आश्रमको बाँके, नेपालगञ्ज १९ औँ जिल्ला शाखा हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, आदर्शनगरमा रहेको आश्रमको संरक्षणमा ४ बालक, १ बालिका, १ महिला र २१ जना पुरुष गरी २७ जना सहयोगापेक्षी व्यक्तिहरु हुनुहुन्छ ।

यहि बर्षको असार २५ गते औपचारिक रुपमा भाडाको घरमा शाखा उद्घाटन भइ सेवा सञ्चालन गरेको आश्रमले बाँके जिल्ला र यसको आसपासका छिमेकी जिल्लाहरुबाट निरन्तर उद्धार कार्य गर्दै आइरहेको छ ।

नयाँ शाखा भएकोले आश्रम सञ्चालनका लागि दाताहरुसम्म पुग्न केही कठिनाइका बाबजुद आगामी दिनमा वृहत्तर सेवा प्रवाह गर्ने उद्धेश्य आश्रले प्रस्तुत गरेको छ ।

यसै उद्धेश्य अनुरुप मानव सेवा आश्रमको भवन निर्माणका लागि समाजसेवी जयकेश बहादुर सिंह र उनको परिवारका तर्फबाट डुडुवा गाउँपालिका वडा नं. ६ मा जग्गा प्राप्त भएको छ ।

सोहि जग्गामा आश्रमको भवन निर्माण कार्यलाई सुरुवात गर्नका लागि नेपथ्य ब्याण्डसँगको सहकार्यमा नेपालगञ्जमा नेपथ्य लाइभ कन्सर्ट हुँदै छ ।

एक हजार रुपैँया रहेको कार्यक्रमको टिकट मानवसेवा आश्रमको शाखा वा अनलाइनमा (thuprai.com/nepathya) र इसेवा (esewaevents.com) बाट प्राप्त गर्न सकिने छ । 

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्