बाँके, बैशाख १-
लकडाउन अवधि थपिदै गएपनि बाँकेमा कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशाला संचालनमा आउन सकेको छैन । नेपाल सरकारले चैतको पहिलो साता भेरी अस्पतालसँगै राजधानी बाहिरका तीन स्थानमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । तर सरकारको निर्णय कार्यान्वयमा आउन सकेको छैन। संघीय सरकारको निर्णय कार्यान्वयन नभएपछि प्रदेश सरकारको सहयोगमा बाँकेमा प्रयोगशाला स्थापना गर्ने काम सुरु भयो । तर त्यो पनि कछुवाको गतिमा काम भएपछि प्रयोगशाला संचालन हुन नसकेको हो ।
चैतको १९ गते भेरी अस्पताल नेपालगन्जले रियल टाइम पिसिआर मेसिन सहित प्रयोगशाला संचालनका लागि अन्य अत्यावश्यक सामाग्री तीन दिन भित्र उपलब्ध गराउने सर्त राख्दै सूचना प्रकाशित गरेको थियो । तर हालसम्म प्रयोगशाला संचालनमा आउन नसकेपछि नागरिकस्तरबाट अस्पताल प्रशासनको आलोचना सुरु भएको छ । भारतीय सीमासँग जोडिएको बाँकेमा कोरोना परीक्षण गर्ने प्रयोगशाला स्थापनामा सरकारले उदासिनता देखाएको भन्दै स्थानीयहरुले गुनासो गरेका छन । सम्बन्धित निकायको लापरबाहीका कारण प्रयोगशाला स्थापनामा ढिलाइ भएको नेपालगन्ज उपमहागनरपालिका उपमेयर उमा थापा मगर बताउनु हुन्छ । ‘जसले जिम्मेवारी लिएका थिए ति निकाय यस्तो संकटका बेला पनि गम्भीर भएन, अस्पताललाई सोध्दा आज हुन्छ भोली हुन्छ भनेर जनतालाई झुक्काउने काम मात्र भएको छ, अस्पतालले विभिन्न बहाना गरेर समस्या मात्र देखाउने गरेको छ,’ उहाँले भन्नुभयो । जनतालाई झुक्काउने काम भैरहेको उहाँको दुखेसो छ । टेण्डर परेको कम्पनीले सबै सामान उपलब्ध गराउन नसक्दा पनि प्रयोगशाला स्थापनामा ढिलाइ भएको छ ।
टेण्डर परेको कम्पनीले हालसम्म पिसिआर मेसिन समेत उपलब्ध गराउन सकेको छैन । अस्पतालले बैकल्पिक रुपमा एक नीजि कम्पनीको पिसिआर मेसिन तयारी अवस्थामा राखेको जनाएको छ । तर त्यो मेसिन पनि संचालनमा आउन सकेको छैन । बाँकेको ८ स्थानीय तहको १६ स्थानमा ४ सय ८९ जनालाई क्वारेनटाईनमा राखिएको छ । प्रदेश सरकारको २ करोड सहयोगमा खजुराको सुशील कोईराला क्यान्सर अस्पतालमा २ भेन्टिलेटर, ६ शैयाको आइसियु कक्ष सहित ४९ शैयाको आइसोलेशन स्थापना गरिएको छ । तर, संक्रमण भए नभएको पत्ता लगाउने प्रयोगशाला नै स्थापना नहुँदा समस्या देखिएको भेरी अस्पताल नेपालगन्जका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापा बताउनु हुन्छ ।