सुबिता थारु
बाँके, (राप्ती सोनारी )कार्तिक २१-
बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले निरन्तर कारोबार बढाउँदै लगेको छ । स्थापनाको सात बर्षमा संस्थाले १३ करोड २ लाख ८० हजार ३ सय ५७ रुपैयाँको कारोबार गरेको हो । सोमबार राप्ती सोनारी ३ नारायणपुरमा साँतौ बार्षिक साधारणसभा गर्दै सहकारीले आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक गरेको थियो । सहकारीको नगद मौज्दात २ लाख ३८ हजार १ सय ५६,बैंक मौज्दात १० लाख २१ हजार ९ सय ४३,लगानी ३० हजार, कर्जा सापटी १ करोड ९लाख ३२ हजार ३ सय ३५, चालु सम्पत्ती ८ लाख ३८ हजार २ सय ६५, स्थिर सम्पत्ती २ लाख १९ हजार ६ सय ६७, रहेको छ । संस्थाका अध्यक्ष बजारी थारुको अध्यक्षतामा आयोजना गरिएको साधारण सभाको उद्घाटन गर्दै राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले सहकारी संस्थाले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनुका साथै महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । थोरै रकम बचत गरेर त्यसबाट बिस्तारै अन्य आय आर्जनका काममा सहयोग पुग्ने भन्दै सहकारी संस्थाका विभिन्न समुहमा आबद्ध हुन उहाँले महिलाहरुलाई आग्रह गर्नु भयो ।

राप्ती सोनारीको ३ र ४ नं. वडा भित्र कार्यक्षेत्र रहेको संस्थाले विगत पाँच बर्षदेखि विधिवत रुपमा सञ्चालन हुँदै आएको छ । संस्थाले राप्ती सोनारी वडा न. ३ र ४ का ३९ वटा समुह गठन गरेर सहकारीमा आबद्ध महिलाहरुलाई खशी बोकाको बजारीकरण,दाना विक्री, पशु शिविर तथा अन्तरिक परजिवी विरुद्धको औषधी वितरण लगायतका सामाजिक कार्य पनि गर्दै आएको बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्था लि कि अध्यक्ष बजारी थारुले जानकारी दिनुभयो ।

सातौं बार्षिक साधारणसभा कार्यक्रममा वडा न. ३ का वडा अध्यक्ष मिन कुमार थारु, वडा न. ४ का वडा अध्यक्ष मिनराज खड्का (सन्तोष), बि गु्रपका प्रतिनिधि रामराज कडायतलगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । साधारणसभामा उत्कृष्ट बचत कर्तालगायत विभिन्न विद्याका महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।
