बाढीमा फसेका महिलालाई गाउँपालिका अध्यक्ष थारुको नेतृत्वमा उद्धार

0
379

बाँके(राप्तीसोनारी), असार ७-
राप्तीको बाढीमा फसेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनाका पाँच जना महिलालाई उद्धार गरिएको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको नेतृत्वमा उनीहरुको उद्धार गरिएको हो । घाँस काट्न राप्ती नदीको बीच टापुमा पुगेका महिलाहरु बाढी आएपछि त्यही फसेका थिए । राती पौने ९ बजेतिर गाउँपालिका अध्यक्ष थारुलाई फोन आएपछि उहाँ आफैले गाडीमा रबर बोट(डुंगा) राखेर नदीमा पुग्नु भएको थियो । लाइफ ज्याकेट लगाएर स्थानीय पाँच जना युवालाई रबरबोटमा राखी गाउँपालिका अध्यक्ष थारुले रबरबोट आफै चलाउनु भएको थियो ।

रातको अन्धकार समयमा टापुमा फसेका ब्यक्तिलाई उद्धार गर्नु त्यती सहज थिएन । ‘टर्चको सहारामा रबर बोट चलाउँदै फसेका महिलालाई उद्धार गर्न सफल भयौं,’ अध्यक्ष थारुले भन्नुभयो ‘नदीमा महिलाहरु फसेका छन् भन्ने खबर आएपछि म हतारमा गाडी आफै चलाएर गाउँपालिकाबाट रबर बोट ल्याएर आएँ, रबर बोटमा हावा भर्दा केही समय लाग्यो, महिलालाई उद्धार गरिसक्दा रातको साढे ११ बजिसकेको थियो ।’ रातको समयमा उद्धार गर्नु जोखिम भएपनि आफ्ना जनतालाई अप्ठ्यारो पर्दा उद्धार गर्न पाउँदा गर्व लागेको अध्यक्ष थारुले बताउनु भएको छ । ‘हामी रबर बोट चलाएर बीच टापुमा पुग्दा महिलाहरु आगो बालेर बसिरहेका रहेछन्, उनीहरुको साथमा मोबाइल पनि थिएन, घर परिवार र छिमेकीले नदीको बीच टापुमा उनीहरु फसेको कुरा जानकारी दिएपछि मात्र मैले रबरबोट लगेर नदीमा पुगेको हुँ ।’ गाउँपालिका अध्यक्ष थारुका अनुसार महिलालाई उद्धार गर्दा राती साढें ११ बजेको थियो ।

यस्तै शनिबार राती नै राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ राजपुरका ६ जनालाई सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ । राप्ती नदीमा भैसी चराउन गएका राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ राजपुरका ३ जना ब्यक्ति नदीको टापुमा फेसका थिए । नदीमा बाढी बढेपछि अड्किएका ३ जनालाई उद्धार गर्न गाउँका थप ३ जना उद्धार गर्न पुगेका थिए । बाढी बढेपछि उनीहरु पनि फसेपछि सम्शेरगन्जबाट सशस्त्र प्रहरी टोली पुगेर ६ जनाको राती साढे १० बजेतिर सकुशल उद्धार गरेको हो ।

अघिल्लो लेखमाराप्तीको बाढी खतराको चिन्हभन्दा माथी
अर्को लेखमाबाँकेमा जघन्य अपराधका ९ मुद्दामा फरार यादव ११ वर्षपछि पक्राउ

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्