बर्फानी बाबा मन्दिर क्षेत्रको विकास योजना तत्काल कार्यान्वयन गर्छु – मन्त्री नमुना

0
151

बाँके, राप्ती सोनारी माघ ७-


लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना)ले बाँकेको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना तत्काल कार्यान्वयन गर्ने बताउनुभएको छ । बाँकेको राप्तिसोनारी गाउँपालिका –४ मा पर्ने चुरे क्षेत्रमा अवस्थित बर्फानी बाबा मन्दिरमा शनिबार पुग्नुभएकी मन्त्री नमुनाले मन्दिरका लागि आफ्नो पहिलो कार्याकालमा ल्याएको योजना धर्मशाला निर्माण र नरैनापुर क्षेत्रबाट मन्दिर सम्म पुग्ने बाटो निर्माण कार्य तत्काल सुरु गर्ने बताउनुभएको हो ।

उहाँले बर्फानी बाबा मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा बिकास गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज रुपमा ल्याउन पहल गर्ने बताउनुभयो । मन्त्री नमुनाले त्यहाँका जनप्रतिनिधि, स्थानीय वासिन्दा तथा मन्दिरका पुजारी श्री श्री १००८ केशव गिरी (बर्फानी बाबा)सङ्ग उक्त वाचा गर्दै मन्दिर परिसरमा तत्कालको समस्या समाधान गर्ने तर्फ आफु लागी परेको बताउनुभयो । उहाँले भन्नु भयो –‘मैले देखेको पहिलो समस्या खानेपानी हो, बिजुली बत्तिका लागि सोलार जडान, तल पानीको मुलबाट मोटर मार्फत पानी तानेर मन्दिर क्षेत्रमा ठूलो पानी ट्याङ्कीको निर्माण गर्ने योजना पनि प्राथमिकतामा राखेको छु ।’ शौचालय निर्माण आदिका कामहरु पनि आफ्नो योजनामा रहेको उहाँले उल्लेख गर्नुभयो ।

बर्फानी बाबा मन्दिर क्षेत्रमा बाहिरबाट आउने तिर्थालु तथा पर्यटकहरुलाई बास बस्नका लागि धर्मशाला निर्माण गर्ने उद्देश्यले आफुले प्रदेश सरकारबाट यस अघि नै ३० लाख बजेट छुट्याइसकेको जानकारी दिँदै उहाँले योजना तत्काल कार्यान्वयनकालागि स्थानिय युवाहरुलाई अग्रसर हुन आग्रह गर्नुभयो । उहाँले भन्नु भयो – ‘तपाईहरु धर्मशाला बनाउने काम तत्काल थाल्नुस, त्यस पछि अन्य योजना थप्ने काम मेरो हो ।’ त्यसैगरी, नरैनापुर क्षेत्रबाट त्यहाँ पुग्ने बाटो बनाउनका लागि पनि पहिलो कार्यकालमै ८ लाख बजेट छुट्याएको र बाटोको ट्रयाक खोल्ने काम सुरु भईसकेको उहाँले जानकारी दिनुभयो । मन्दिरका पुजारी श्री श्री १००८ केशव गिरी (बर्फानी बाबा)ले उक्त क्षेत्रमा आवश्यक भौतिक संरचना तथा अन्य बिकासका योजनाहरु पूरा गरिदिनका लागि मन्त्री नमुनालाई आग्रह गर्नुभएको थियो । हाल उक्त क्षेत्रमा आवश्यक रहेको खानेपानी, शौचालय, सडक स्तरोन्नति, बिजुली बत्ती तथा धर्मशाला लगायतका भौतिक संरचनाहरु बनाइदिनका लागि मन्त्री नमुनासङ्ग उहाँले आग्रह गर्नुभयो । ‘धेरै मानिस आउँछन्, यहाँको समस्या प्रत्यक्ष हेरेर फोटो खिचेर लैजानछन् तर यस क्षेत्रको समस्या समाधान तपाईबाट हुन्छ भन्ने विश्वस्त छु ।’ पुजारी (बर्फानी बाबा)ले भन्नुभयो । राप्ती सोनारी ४ स्थित शिक्ख सामुदायिक वनसँग जोडिएको मन्दिर आसपास क्षेत्रको जङ्गल लाई आफ्नै पहलमा मन्दिरको नाममा ‘धार्मिक वन’ समेत बनाइसकेको मन्त्री नमुनाले बताउनुभयो । २२ हेक्टर जङ्गल क्षेत्रलाई मन्दिरको नाममा ‘धार्मिक वन’ का रुपमा दर्ता गरिएको उहाँले जानकारी दिनुभयो ।


हिडेर त्यहाँसम्म पुग्न नसक्ने तिर्थालु तथा पर्यटकको सेवाका लागि हेलिकप्टरको सुबिधा समेत प्रदान गरिने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो । जसका लागि मन्दिरको नजिकै हेलिप्याड समेत निर्माण गरिएको तर सो हेलीप्याडको आकार सानो भएको हुँदा त्यसलाई ताछेर तत्काल ठूलो र फराकिलो बनाउन लागिएको उहाँले जानकारी दिनुभयो । यस अघि दुई पटकसम्म उक्त क्षेत्रमा हेलिकप्टर लिएर जाँदा उपयुक्त हेलिप्याड नभएका कारण हेलिकप्टर बस्न नसकेको उहाँले स्मरण गराउनुभयो ।
राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको संगम स्थलमा पर्ने चुरे पहाडमा अबस्थित तपोभुमी बर्फानी बाबाको मन्दिरमा पर्यटनको बिकास गरी प्राकृतिक धार्मिक पर्यटकिय सर्किट निर्माण गरि बाँकेको समग्र पर्यटनको बिकास गरिने उहाँले बताउनुभयो । मन्त्री नमुनाकै पहलमा बर्फानी बाबा मन्दिर क्षेत्रको धेरै बिकासका कामहरू अगाडी बढेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मिनराज खड्का (सन्तोष)ले बताउनुभयो । सो क्षेत्र आफ्नो वडाभित्र भएको हुँदा उक्त क्षेत्रको बिकास गरी तिर्थालु तथा पर्यटकहरु त्यहाँसम्म सहज रुपमा पुग्नका लागि स्थानीय सरकारले पनि प्रदेश सरकारसँग मिलेर काम गर्ने अध्यक्ष खड्काले बताउनुभयो । नेपालगन्जबाट राप्तिसोनारीको बैजापुरसम्म गाडी, त्यहाँबाट बर्फानी बाबा मन्दिरको नजिकसम्म मोटरसाइकल र त्यसपछि आधा घण्टा उकालो पैदल यात्रा गरेर त्यहाँ पुग्नुभएकी मन्त्री नमुनासङ्गै स्थानीय जनप्रतिनिधि, पत्रकार, तथा स्थानीय वासिन्दाहरु शनिबार उक्त क्षेत्रमा पुग्नुभएको थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्