बाँके (नरैनापुर) फागुन १५-
बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा पनि अत्याधिक संख्यामा मोती विन्दुको समस्या देखिएको छ । नरैनापुर गाउँपालिकाको समन्वय तथा तेज कोहली रुइत फाउण्डेशन काठमाण्डौको आर्थिक सहयोगमा फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगञ्जले आईतबार देखि सञ्चालन गरेको शिविरमा ४ सय १५ जनाको आँखा जाँच गर्दा १ सय ४४ जनामा मोती विन्दुको समस्या देखिएको हो ।

आईतबार कटकुईयाँ स्वाथ्यचौकीमा १ सय ९५ जनाको आँखा जाँच गर्दा ४७ जना र सोमबार लक्ष्मणपुर प्राथमिक स्वाथ्य केन्द्रमा २ सय २० जनाको जाँच गर्दा ९७ जनालाई मोती विन्दुको समस्या देखिएको शिविरमा खटिनुभएका डाक्टर छन्दुलाल थारुले जानकारी दिनुभयो । दुई दिनमा १ सय ४४ जनामा मेती विन्दुको समस्या देखिनु धेरै हो । उहाँले भन्नुभयो, –‘अझै ४ वटा वडा सिंगो बाँकी नै छ ।’ मोती विन्दुको सम्स्या देखिएका सबैलाई निशुल्क अप्रेशनकालागि फत्तेवाल आँखा अस्पतालमा रेफर गरिएको डाक्टर थारुले जानकारी दिनुभयो ।

डाक्टर छन्दुलाल थारुका अनुसार ४५ वर्ष पुगेका मानिसहरुमा आँखा धमिलो हुँदै जान्छ र बेलैमा उपचार नगरे जलविन्दु भएर पछि आँखा नदेख्ने समस्या समेत हुन सक्छ । फत्तेवाल आँखा अस्पतालले यसअघि बाँकेको राप्ती सोनारी गाउँपालिकाको सबै वडामा निशुल्क आँखा शिविर सञ्चालन गरेको थियो ।