कोहलपुर – कोहलपुर नगरपालिका–६ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामशरण थारु निर्वाचित भएका छन्। निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका श्रीकृष्ण थारुलाई ६४ मतको अन्तरले पछाडी पार्दै उनी निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए। कुल २ हजार २६ मतदाता रहेको उक्त वडामा शनिबार भएको मतदानमा १ हजार ६ सय ३४ मत खसेको थियो ।

निर्वाचित भएका रामशरणले ८ सय मत ल्याए, भने निकटतम प्रतिद्धन्दी श्रीकृष्णले ७ सय ३६ मत प्राप्त गरे। तेस्रो स्थानमा आएका राप्रपाका श्रीधर सुवेदीले ६१, नेपाल मजदुर किसान पार्टीका दिपालक्ष्मी हमालले १३ र समाजवादी पार्टीका शोभाकर पोखरेलले १० मत प्राप्त गरे। जिल्ला निर्वाचन अधिकारी सुवेदीका अनुसार १४ मत बदर भएको थियो। वडाध्यक्षमा निर्वाचित रामशरणलाई आइतबार एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले प्रमाणपत्र वितरण गरेका छन्। आफ्ना उम्मेदवार निर्वाचित भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले कोहलपुरमा आईतबार दिउँसो विजयी जुलुस निकालेको थियो । तत्कालिन वडाध्यक्ष रामसोहन थारुको निधन भएपछि सरकारले उपनिर्वाचन गराएको हो ।
