रेडियोबाटै ट्युसन पढ्न पाइने भएपछि घरमा बसिरहेका बिद्यार्थीले एफ.एम. रेडियो नियमित रुपमा सुन्न थालेका छन् ।
बाँके(अगैया), बैशाख १८-
कोरोना भाइरस प्रभावित बिद्यार्थीका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकाले रेडियोबाट ट्युसन कक्षा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको शिक्षा शाखाले बुधबारबाट रेडियो भूवर भवानी ९८.८ मेगाहर्जमार्फत कक्षा सञ्चालनमा ल्याएको हो । रेडियो शिक्षा कार्यक्रममा एस.इ.ई विशेष र कक्षा १ देखी १० सम्मको फरक–फरक विषयमा पठन पाठन गर्ने ब्यवस्था मिलाइएको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनु भयो । ‘कोरोना भाइरसका कारण २०७६ सालको एस.इ.ई. परिक्षा हुन पाएको छैन, नयाँ शैक्षिक शत्र सुरु भइसक्यो, तर बिद्यालय खुल्ने अत्तोपत्तो छैन, यस्तो अवस्थामा बिद्यार्थीको पढाई क्षमताको विकास गर्न रेडियोबाट ट्युसन कक्षा सञ्चालन गरेका हौं,’ उहाँले भन्नुभयो । हरेक दिन बिहान ८ बजेदेखी ९ बजेसम्म एस.इ.ई. विशेष र दिउँसो ३ बजेदेखी ५ बजेसम्म कक्षा १ देखी कक्षा १० सम्मको पढाई सञ्चालन हुन्छ ।
रेडियो भूवर भवानीको स्टुडियोमा बसेर बिद्यार्थीलाई अंग्रेजी विषय पढाउँदै कुसुमेश्वर माविका शिक्षक बेदबहादुर डाँगी ।
रेडियो शिक्षामा पठन पाठन गर्न गाउँपालिकाको शिक्षा शाखाले राप्तीसोनारी क्षेत्रका विभिन्न बिद्यालयमा कार्यरत शिक्षकलाई खटाएको छ । शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले घरमा बसिरहेका बिद्यार्थीको ध्यान पढाईतिर केन्द्रित गराउन रेडियोमार्फत शिक्षा दिइएको बताउनु भयो । ‘लकडाउनका कारण यतिबेला बिद्यार्थीहरु घरमै बसेका छन्, घरमा त्यसै बस्नुभन्दा रेडियो सुनेर पनि धेरै शिक्षा पाउँछन्, यसले बिद्यार्थीलाई फाइदा गर्छ,’ न्यौपानेले भन्नुभयो । गाउँपालिकाले स्थानीय एफ.एम. रेडियोबाट ट्युसन कक्षा सञ्चालन गरेपछि बिद्यार्थी, शिक्षक र अभिभावकले चासो लिन थालेका छन् । संकटको अवस्थामा पनि गाउँपालिका कार्यालय बिद्यार्थीको पढाईप्रति चिन्तित रहेको भन्दै शिक्षक र अभिभावकहरु प्रशंसा गर्छन् ।
‘सरकारले लकडाउन गरेपछि अचेल बिद्यार्थीहरु घरमा बसिरहेका छन्, यस्तो बेलामा बिद्यार्थीको हितका लागि गाउँपालिकाले रेडियोबाट ट्युसन पढाउनु धेरै राम्रो काम हो,’ सरस्वती माध्यामिक बिद्यालय राप्तीसोनारी–३ भवानीयापुरका शिक्षक सेतीराम गोसाइँले भन्नुभयो । रेडियोबाटै ट्युसन पढ्न पाइने भएपछि घरमा बसिरहेका बिद्यार्थीले एफ.एम. रेडियो नियमित रुपमा सुन्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमका दिलिप खड्काले एफ.एम. रेडियोबाट ट्युसन कक्षा सञ्चालन भइरहेको कुरा थाहा पाएपछि अचेल रेडियो सुन्न थालेको बताउनु भयो । ‘घरमा बसिरहँदा तनाव भइरहेको थियो, रेडियोबाट ट्युसन सुरु भएपछि अहिले नियमित रुपमा रेडियो सुन्छु,’ उहाँले भन्नुभयो । दिलिपले गत चैतमा एस.इ.ई. परिक्षाको तयारी गरेपनि कोरोना भाइरसका कारण सरकारले अन्तिम समयमा स्थगित गरेपछि परिक्षा दिन पाउनु भएन ।
गणेश माध्यामिक बिद्यालय ढकेरीका माध्यामिक तह विज्ञान शिक्षक खडानन्द डाँगी ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु रेडियो सुनेर पनि बिद्यार्थीले धेरै कुराको ज्ञान हासिल गर्न सक्ने बताउनु हुन्छ । ‘रेडियोबाट शिक्षकले बोलेको कुरा सुनेर बिद्यार्थीले ज्ञान प्राप्त गर्न सक्छन्, त्यही भएर पनि गाउँपालिकाले बिद्यार्थीका लागि रेडियो सुन्दै घरमै बसेर पढ्ने ब्यवस्था मिलाएको हो,’ उहाँले भन्नुभयो । रेडियो भूवर भवानीका कार्यकारी प्रमुख अर्जुन ओलीले लकडाउनका कारण एस.इ.ई. र कक्षा १ देखी १० सम्मका बिद्यार्थी घरमै बस्नु परेको अवस्थामा गाउँपालिका कार्यालय र शिक्षा शाखासँगको सहयोग तथा सहकार्यमा रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । ‘कोरोना भाइरसको संक्रमणका कारण छापा सञ्चार माध्यम अधिकांस बन्द अवस्थामा छन्, सूचना समाचार र जनचेतना मुलक कार्यक्रमका लागि भरपर्दो माध्यम एफ.एम. रेडियो बनेका छन्, यस्तो संकटको अवस्थामा पनि हामीले दैनिक झण्डै १६ घण्टा रेडियो प्रशारण गरेर कोरोना भाइरसविरुद्ध सूचना, समाचार र जनचेतना मुलक कार्यक्रम प्रशारण गरिरहेका छौं ।’ रेडियो शिक्षा कार्यक्रम तत्कालका लागि एक महिनासम्म सञ्चालन हुनेछ ।