बाँके (राप्तीसोनारी ),मंसिर २४-
आधारभुत स्वास्थ्य सेवा केन्द्र राप्तीसोनारी ६ कमैयाडाँडाको नवनिर्मित भवन आज उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना र राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले संयुक्त रुपमा भवन उद्घाटन गर्नु भएको हो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जनकबहादुर थारुको सभापतित्वमा भएको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले प्रदेश सरकार पनि नागरिकको स्वास्थ्यप्रति संबेदनसिल रहेको बताउनुभयो । देश संघियतामा गएपछिका समयमा थुप्रै विकास भएको उदाहरण दिँदै उहाँले अव सबै वडाका स्थानियवासीले घरदैलोमै आधारभूत स्वास्थ्य सेवा पाउने बताउनुभयो । उहाँले भन्नुभयो – ‘गरिब, कोरोनाबाट प्रभावित, दीर्घ रोगी नागरिकका लागि केन्द्र सरकारले विशेष राहतको व्यवस्था गरेको छ, यसबाट धेरै बिपन्न परिवारलाई लाभ पुग्नेछ ।’ कार्यक्रममा प्रदेश सभा सदस्य केसीले नव निर्मित भवनको चावी आधारभुत स्वास्थ्य सेवा केन्द्रका ईन्चार्ज नियामत साईलाई हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले सरकारले तोकेका सबै औषधी अपुग भएमा गाउपालिकाको स्वास्थ्य शाखामा तत्काल खबर गर्न आग्रह गर्नुभएको छ । साथै अब यस क्षेत्रका नागरिकलाई सामान्य उपचारका लागि नेपालगन्ज पुग्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । उहाँले आधारभूत स्वाथ्य केन्द्रको भवन निर्माणकालागि जम्मा ४० लाख ससर्त बजेटबाट ३३ लाख २७ हजार लागतमा निर्माणको टेण्डर गरेकोमा अव ३ लाख ७४ हजार भुक्ततानी गर्न बाँकी रहेको जानकारी दिनु भयो । स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउन गाउपालिका प्रतिबद्ध रहेको पनि बताउँदै अध्यक्ष थारुले अव सबै वडामा स्वाथ्य केन्द्र स्थापना भईसकेको बताउनुभयो । यसअघि राप्तीसोनारीमा ६ वटा मात्र स्वाथ्य चौकी रहेको थियो । उहाँले भन्नुभयो – ‘अव हामी सबै वडाका आफ्नै भवनमा आधारभूत स्वाथ्य सेवा केन्द्र स्थापना गरिसकेका छौं अव ८ नम्बर वडाको मात्र उद्घाटन गर्न बाँकी छ ।’

उद्घाटन कार्यक्रमको समापन गर्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जनकबहादुर थारुले आधारभूत स्वाथ्य केन्द्रको आफ्नै भवन भएकाले अव विरामी, गर्भवति तथा सुत्केरी महिलालाई सेवा दिन सहज हुने बताउनुभयो । भवन उद्घाटन कार्यक्रमको सहजीकरण गरेका आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज नियामत साईले वडा नम्बर ६ का महिलाहरु अव सुत्केरी हुन स्वाथ्य चौकी फत्तेपुर जान नपर्ने बताउनु भयो । कमैया डाँडामा निर्मित सुविधा सम्पन्न भवनबाट विशेष गरेर आधारभूत स्वास्थ्य सेवा केन्द्रले बर्थिङ सेन्टरका रुपमा सेवा दिने उहाँले जानकारी दिनुभयो ।
