बाँके, (राप्ती सोनारी) मंशिर ८-

बाँकेको प्रदेश सभा १ (क) मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार कृष्णा केसी ’नमुना’ पुनः निर्वाचित हुनुभएको छ । बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेद्वार नमुनाले नागरिक उन्मुक्ति पाटीका उम्मेद्वार सोमराज चौधरीलाई ११३७ मतान्तरले पछाडी पार्दै लुम्विनी प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नमुनाले ९१०३ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने उहाँको निकटतम चौधरीले ७९६६ मत प्राप्त गर्नुभयो । मतगणनाको सुरुवाती चरणमा राप्रपाका उम्मेद्वार नरेन्द्र पौडेलसँग प्रतिस्प्रधा भएपनि अन्तिम समयमा चौधरीले मतान्तर घटाउँदै दोस्रो स्थानमा पुग्नुभएको थियो । यस्तै राप्रपाका नरेन्द्रकुमार पौडेलले ७२५८, जनता समाजवादी पार्टी (जसपा)का अम्बरबहादुर खड्काले ३७०६ र स्वतन्त्र उम्मेद्वार तीर्थराज डाँगीले २४८९ मत प्राप्त गर्नुभएको छ । यसैगरी अर्का स्वतन्त्र उम्मेद्वार प्रदिप पौडेलले ५७०, लोकतान्त्रिक समाजबादी पार्टी नेपालका राजेन्द्र कुमार विश्वकर्माले ५३४ र नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार जय प्रकाश चौधरीले ७३ मत प्राप्त गर्नुभएको छ ।
नमुना अहिलेको निर्वाचनमा बाँकेबाट प्रत्यक्ष निर्वाचित एक्लो महिला उम्मेदवार हुनुहुन्छ । निर्वाचनको माहोल सुरु हुनुभन्दा पहिले नमुनाले उम्मेद्वारको टिकट पाए देखि नै यस अघिको कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रमा खासै प्रभावकारी काम नगरेको भन्दै ब्यापक टिका टिप्पणी भएको थियो । केसीले यो निर्वाचनमा पराजय ब्यहोर्ने ठोकुवा सहितका समाचारहरु प्रकाशित भएका थिए भने सामाजिक सञ्जालमा विपक्षी दलका कार्य कार्यकर्ता र उहाँको आफ्नै दलका कतिपय कार्यकर्ताहरुले पनि नो नट अगेनको नारालाई समर्थन गरेको देखिन्थ्यो । तर कोरोना भाईरस महामारीको समयमा केसीकै पहलमा बाँके क्षेत्र नम्बर १ को बगौडा सम्म हुलाकी सडक कालो पत्रे गराउन र विद्युत विस्तार गर्न सफल भएको भन्दै पुन निर्वाचित गरेको स्थानियले बताएका छन् । महिला भएकै कारण नमुनाको कर्य सम्पादनमा समाजले टिका टिप्पणी गरेको कतिपय महिला नेत्रीहरुको आरोप छ ।